आर्थिक

नेपालको जनशक्तिलाई सदुपयोग गर्न सरकार दत्तचित : मन्त्री विष्ट

By Bala Adhikari

January 10, 2019

पोखरा, पुष २६ । पोखरामा गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आज शुभारम्भ गरे ।

सो कार्यालयले आजैदेखि वैदेशिक रोजगारमा जाने व्यक्तिलाई श्रम स्वीकृति प्रदान गरिने छ । आगामी दिनमा यस कार्यालयबाट नै वैदेशिक रोजगारमा जानेलाई श्रम स्वीकृति दिइने उद्देश्यका साथ यो कार्यालयको स्थापना गरिएको हो ।

उक्त अवसरमा मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौँ युवालाई रोजगार दिने लक्ष्यका साथ कार्यक्रम ल्याउन लागिएकाले पाँच वर्षभित्रै वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे ।

नेपालको जनशक्तिलाई सदुपयोग गर्न सरकार दत्तचित रहेको भन्दै मन्त्री विष्टले कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौँ जनशक्ति आवश्यक परेकाले विभिन्न क्षेत्रमा रोजगार सिर्जना गर्न सरकार प्रतिबद्ध भएर काम गरिरहेको बताए ।

उनले संघीय सरकारले वैदेशिक रोजगारमा जानेको सुलभताका लागि सातवटै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना गर्न लागेको जनाउँदै ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्न लागेको बताए ।

उनले आर्थिक, सामाजिक र सांस्कृतिक पक्षका साथै शिक्षण, आवास र रोजगारलाई संविधानको मौलिक हकमा राखिएकाले यस विषयमा सरकार सजग रहेको र मुलुकको विकास निर्माणमा जनताको मिहेनत आवश्यक रहेको प्रस्ट्याए ।

उक्त अवसरमा मन्त्री विष्टले वैदेशिक रोजागारमा मकाउ जाने नवलपरासीका खड्गबहादुर गुरुङ र युनाइटेड अरब इमिरेट्स जाने चन्द्रबहादुर गुरुङलाई राहदानी दिए ।