काठमाडौं, साउन ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् गठन भएको छ । आज सम्पन्न भएको मन्त्री मण्डल गठनमा नेपाली कांग्रेसबाट १०, नेकपा माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक गरी १९ जना मन्त्री भएका छन् ।
देउवा प्रधानमन्त्री भएसँगै ८ जना मन्त्री भइसकेका र देउवा सरकारमा तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ । सरकारको प्रवक्ता समेत हुने सञ्चार मन्त्रालयमा मोहनबहादुर बस्नेतलाई संचार मन्त्रालय जिम्मा लगाइएको छ । आज गठन भएको मन्त्री परिषद्मा नेपाली कांग्रेसबाट मन्त्री हुनेहरुमा वीरबहादुर बलायर, अम्बिका बस्नेत, महेन्द्र यादव र मीन विश्वकर्मा, रामकृष्ण यादव, यज्ञबहादुर थापा, सञ्जय गौतम र राजन केसी, भीमसेनदास प्रधान मन्त्री भएका छन् । बलायरले भौतिक पूर्वाधार, अम्बिका बस्नेतले सहकारी तथा गरीबी निवारण, महेन्द्र यादवले खानेपानी र विश्वकर्माले वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका छन् भने रामकृष्ण यादवले कृषि, थापाले कानुन, गौतमले सिचाई र केसीले युवा तथा खेलकुद र प्रधानले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
माओवादी लगायत अन्य दुई दलबाट मन्त्री हुनेहरुमा महेन्द्र बहादुर शाही– उर्जामन्त्री, गिरिराजमणि पोखरेल– स्वास्थ्य, गोपाल दहित– भूमिसुधार, आशा कोइराला– महिला तथा बालबालिका, टेकबहादुर बस्नेत– सामान्य प्रशासन, जितेन्द्र नारायण देव– संस्कृति तथा पर्यटन, शिवकुमार मण्डल– आपूर्ति, सन्तकुमार चौधरी –पशुपंक्षी, मिथिला चौधरी– वातावरण मन्त्री भएका छन् ।