आर्थिक

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी एक महीना चल्ने

By Bala Adhikari

January 14, 2019

ललितपुर, पुस ३० । आगन्तुकको संख्यामा वृद्धि भए पछि नेपाल प्रज्ञा प्रतिष्ठानले १५ दिनका लागि शुरु गरेको पुस्तक प्रदर्शनीको समयाबधि थप गरी एक महीना गर्ने भएको छ । राष्ट्रिय एकता दिवसको अवसरमा १५ पुसदेखि पुस मसान्तसम्म भनिए पनि आगन्तुकको संख्यालाई मध्यनजर गर्दै माघ १५ सम्म नै प्रदर्शनी चल्ने प्रतिष्ठानले जानकारी गराएको छ ।

पुस्तक किन्नेको आगमन अपेक्षा गरेभन्दा उल्लेखीय रहेको पुस्तक प्रदर्शनी व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी गराए । अहिलेसम्म दैनिक रु २५ हजारको हाराहारीमा कारोवार भइरहेको बताउँदै उनले भने, प्रतिष्ठान नाफामुखी संस्था नभएको तर यहाँको प्रकाशन धेरैको हातमा परोस् भन्ने प्रदर्शनीको उद्देश्य होे । प्रकाशन खोजमूलक र सूचनामूलक भएको र जुन धेरै पाठकका हातमा पुगोस् भन्ने प्रकाशनको उद्देश्य भएको उनले बताए ।

प्रदर्शनीमा रहेका पुस्तकमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको प्रतिष्ठानले जानकारी गराइएको छ । रु दुईदेखि एक हजार ४०० सम्मका पुस्तक प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा नयाँ र पुरानासँगै विभिन्न भाषाबाट नेपालीमा अनुवादित पुस्तक प्रदर्शनीका लागि राखिएको छ । नयाँ पुस्तकभन्दा धेरैले पुराना पुस्तक रुचाएको ढुङ्गेलले सुनाए ।

इतिहासका कुरा पुराना पुस्तककै आधारमा नयाँ पुस्तकमा आउने भएकाले पाठकले पुराना पुस्तक रुचाएको उनको धारणा छ । पुराना पुस्तक पुनःमुद्रण गरेर पनि प्रदर्शनीमा राखेका उनले बताए । प्रतिष्ठानले हरेक वर्ष पुस महीनामा पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस)का अवसरमा पुस्तक प्रदर्शनी गर्दै आएको छ ।