कभर स्टोरी

कांग्रेसभित्र अब कुनै गुटउपगुट छैन : उपसभापति निधि

By Bala Adhikari

January 14, 2019

दैलेख, पुस ३० । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको जानकारी गराएका छन् । ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुट अन्त्य भई पार्टी थप मजबुत बनेको नेपाल प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेशनको उद्घाटनका क्रममा सो कुरा बताएका हुन् । उपसभापति निधिले महासमिति बैठकबाट एकताको सन्देशसहित विश्वमै उत्कृष्ठ र समावेशी विधान बनाउन सफल भएको जानकारी गराए ।

कांग्रेसभित्र अब कुनै गुटउपगुट नभएको जिकिर गर्दै उनले भने, अब कांग्रेस भित्रको टिके प्रर्था अन्त्य हुन्छ, टिके प्रर्थाबाट कुशल नेतृत्वको विकाश हुन सक्दैन । निधिले वर्तमान सरकारले संघीयतालाई खतरामा पार्ने गतिविधि सञ्चालन गरेको आरोप लगाएका छन् । उनले संघीय प्रणाली नेपाली कांग्रेसको एजेण्डा भएको प्रष्ट्याए ।

मुलुकमा भइरहेको हत्या, हिंसा बलात्कार, जस्ता घटनालाई नियन्त्रण गर्न सरकार उदासिन रहेको बताउँदै निधिले भने लोकतन्त्र दरिलो भएमात्रै प्रेस जगत् स्वतन्त्र हन्छ । लोकतन्त्रको जतिनै नारा लगाए पनि सरकार लोकतन्त्रप्रति उदासिन बनेको छ । समृद्ध मुलुक निर्माणमा प्रेसको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै निधिले लोकतन्त्रको पर्यायवाची प्रेस जगत् भएको जानकारी गराए । नेता निधिले प्रेस स्वतन्त्रता खोस्ने काम कहिं कतैबाट हुनु नहुँने भन्दै प्रेसमाथि सुनियोजित ढङ्गबाट आक्रमण भइरहेकोमा दुःख व्यक्त गरेका छन् ।

नेपाल प्रेस युनियनका जिल्ला सभापति भूपेन्द्र शाहीको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, कर्णाली प्रदेशसभा सदस्य हिमबहादुर शाही, कांग्रेस दैलेखका सभापति कृष्णकुमार विसी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष चक्र केसी, नेपाल महिला संघका जिल्ला अध्यक्ष सीता राना लगायतले मुलुकको विकास र समृद्धिका लागि प्रेसको भूमिकाका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

सरकारले प्रेसमाथि लगाउँन खोजेको अंकुश कसैलाई मान्य नहुने वत्ताहरुको धारणा थियो । प्रेस जगत स्वतन्त्र र निश्पक्ष रुपमा अगाडी बढ्न सके देश समुन्नतको बाटोमा लाग्ने वत्ताहरुले बताएका थिए ।