कभर स्टोरी

वर्तमान सरकारले जनचाहनाअनुसार काम गर्न सकेन : नेता सिटौला

By Bala Adhikari

January 16, 2019

भद्रपुर, माघ २ । अहिलेको सरकार जनता केन्द्रित नभएको, कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताएका छन् । गृह नगर भद्रपुरमा आज पत्रकारसँग कुरा गर्दै नेता सिटौला बहुमत पाएको बलियो वर्तमान सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको जिकिर गरे ।

दुई तिहाइको सरकार आएपछि जनतामा ठूलो आशा जागेको तर जनताको भावना विपरीत सरकारको गतिविधि देखिएको बताउँदै उनले भने, अपेक्षाकृत काम भएको छैन, प्रतिपक्षमा रहेको कांग्रेसले पनि गतिलो भूमिका निर्वाह गर्न सकेको छैन ।

२०४६ सालको परिवर्तनपछि कांग्रेसको तत्कालीन नेतृत्वले व्यवस्था अनुकूल काम गर्न नसक्दा दश वर्षे युद्धको नरसंहार व्यहोर्नुपरेको जानकारी गराए । वर्तमान सरकारले विगतको इतिहास बुझेर जनपक्षीय हुनुपर्नेमा उनले जोड दिएका छन् । उनले इतिहास बुझेर जनपक्षीय नभए संघीयता, लोकतन्त्र र गणतन्त्र पनि धरापमा पर्ने बताएका छन् ।

नेता सिटौलाले संघीय संरचनाअनुसार कांग्रेसलाई रूपान्तरण गरी जनताका घरदैलोसम्म लैजानुपर्ने उनको धारणा छ । वाइड बडी विमान घोटालाका विषयमा कांग्रेसको महासमिति भेलाले दोषीलाई कारवाही गर्नुपर्ने आधिकारिक धारणा प्रस्तावका रूपमा पारित गरेकोसमेत नेता सिटौलाले जानकारी गराएका छन् ।