सिन्धुली, माघ ३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताले दिएको जनमत खेर जाने अवश्था यस सरकारको नभएको र अहिलेको सरकार समृद्धिको यात्रामा वर्तमान निरन्तर अघि बढने बताएका छन् । सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा आयोजित ६ दिने प्रथम फिक्कल महोत्सवको बुधबार उद्घाटन गर्दै आगामी पाँच वर्षभित्र मुलक विद्युतमा आत्मनिर्भर हुने, रेल, नेपाली झण्डासहितको पानी जहाज, इँट्टाभट्टाजस्ता साना उद्योगमा पनि योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुनेलगायतका कामबाट समृद्धि हासिल हुने जानकारी गराएका छन् ।
फिक्कल गाउँपालिकाका लागि सरकारले कुनै कसुर नछोड् बताउँदै उनले भने टेलिफोन, विजुलि बत्ति लगाएतका काममा तदारुक्ताका साथ यस सरकार लाग्छ । उनले आगामी जेठभित्र फिक्कलमा टेलिफोनका टावर निर्माण भई सेवा सञ्चालन गरिने र सुनकोशी विद्यालयमा प्रविधिमा आधारित अध्ययनका लागि आवश्यक कम्युटर उपलब्ध गराउने घोषणा समेत गर्न भ्याएका छन् । जनताको आशा र भरोसालाई मर्न नदिन सिन्धुलीका सांसदले कुनै कुरामा पछि नपर्न समेत उनले निर्देशन दिएका छन् ।
बाँस्कोटाले पर्यटकीय गन्तव्यको विकास, सिँचाइ, बिजुली, शिक्षा, स्वास्थ्य, कृषि, प्रविधिमा सुधार र रोजगारको प्रबन्ध गरेर नयाँ पुस्तालाई समृद्धि हस्तान्तरण गर्ने लक्ष्यमा वर्तमान सरकार इमानदार रुपमा लागि परेको प्रस्ट पारेका छन् । वृद्धभत्ताको निरन्तरताका साथै तलब खाने हरेक छोराछोरीले निश्चित हिस्सा बाबुआमाको सुरक्षा र संरक्षणका लागि विनियोजन गर्नुपर्ने र यसलाई स्थानीय सरकारले पनि कार्यान्वयन गर्ने प्रबन्ध केन्द्रीय सरकारले गर्ने मन्त्री बाँस्कोटाले स्पष्ट पारेका छन् । हालसम्म १४ गर्भवतीलाई हेलिकप्टरमार्फत मृत्युको मुखबाट जोगाएको बताउँदै उनले भने, नागरिको सुरक्षाका लागि सरकार जिम्मेवार छ ।
सरकारले चीन, भारत र अमेरिकासँगको सम्बन्धमा नयाँ आयाम विकास, साना किसानको ऋण मिनाहा, वैदेशिक रोजगारमा काम गर्न कानूनी प्रतिरक्षाका लागि प्रतिव्यक्ति रु १५ लाखको व्यवस्था गरेको मन्त्री बाँस्कोटाले जानकारी गराए । कार्यक्रममा प्रतिनिधिसभा विकास समितिका सभापति कल्याणी खड्काले अहिलेको अवस्थामा पनि कतिपय जनताले सञ्चारको सुविधा नपाउनु दुःखद भएको जानकारी गराइन् । सिन्धुली फिक्कलमा अहिले सम्म टेलफोनको सेवा पुग्न सकेको छैन । सिन्धुलीका सांसद गणेश पहाडीले महोत्सवले सडक, विद्यालय, बिजुली र पर्यटन प्रवद्र्धन गर्ने बताए । ओखलढुङ्गाका सांसद यज्ञराज सुनुवारले कृषि, जडीबुटी, वन र पर्यटन समृद्धिको मूल आधार भएकाले यसका लागि सबै लाग्नुपर्ने बताएका छन् ।
महोत्सवमा चर्चित कलाकारको प्रस्तुति हुनेछ भने सिन्धुलीको फिक्कल अवलोकन, सुनकोशीका जलयात्रा, प्याराग्लाइडिङ, सिन्धुली कला घर, स्थानीय कृषि र अन्य उत्पादनको प्रदर्शनी महोत्सवका आकर्षण हुने गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले जानकारी दिनुभयो । महोत्सवमा करीब एक लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको फिक्कल गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष राजु बरालले बताए । सो महोत्सव यही माघ ७ गतेसम्म सञ्चालन चल्ने जानकारी गराउँदै उनले भने फिक्कलको विकासका लागि यस महोत्सवले थप टेवा पुग्ने छ । स्थानियका चासो र गुनोसलाई मनन् गर्दै आफु अघि बढेको उनले सुनाए ।