कभर स्टोरी

स्मृति सभागृहको बजेट नरोक्न सिटौलाको आग्रह

By Bala Adhikari

January 20, 2019

भद्रपुर, माघ ६ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार र सरोकारवाला निकायलाई पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा निर्माण भइरहेको सभागृहको बजेट नरोक्न आग्रह गरेका छन् ।

उनले वर्तमान सरकारले गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको बजेट रोकेका कारण निर्माण पूरा नभएको आरोप समेत लगाएका छन् । सिटौलाले वर्तमान प्रधानमन्त्री केपी ओली, तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विसं २०७२ असार २८ गते सो सभागृहको संयुक्त शिलान्यास गरेको स्मरण गराए ।

भद्रपुर नगरापालिका–८ मा मेची रङ्गशालाको पश्चिममा निर्माणाधीन सो सभागृह निर्माणका लागि प्रेरा शाह जेबीले रु १२ करोड ७२ लाख ६९ हजारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार निर्माण थालिएको दुई वर्षभित्र अर्थात विसं २०७४ असार २८ गतेभित्र सभागृहको निर्माण भइसक्नुपर्ने भए पनि सभागृहको ७५ प्रतिशत काम मात्र पूरा भएको बताइएको छ ।

नेता सिटौलाले सो सभागृहको निर्माण पूरा गराउन पहल गरिदिन प्रधानमन्त्री ओलीलाई आग्रह समेत गरेका छन् । सरकारका तर्फबाट सो कामका लागि पूर्ण सहयोग प्राप्त हुने उनको ठहर छ । इतिहास बचाउने र जोगाउने काममा कसैले वाधा पुर्याउन नहुने उनले बताए ।