कभर स्टोरी

सरकारले प्रेसदेखि अदालतसम्म हस्तक्षेप गर्यो : देउवा

By Bala Adhikari

January 21, 2019

लमजुङ, माघ ७ । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गरी प्रजातन्त्रलाई कमजोर बनाउने खेलमा लागेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौँ जिल्ला अधिवेशनमा सभापति देउवाले सरकारले प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरी हत्यारालाई उन्मुक्ति दिन लागिपरेको जानकारी गराए ।

देशका नामुद गुन्डा, हत्यारा, बलत्कारीले उन्मुक्ति पाउँदै आएको तर निष्पक्ष रुपमा चलेका कलमको निप भाँच्ने काम सरकारबाट भएको उनले बताएका छन् । सरकारले निर्मला पन्तको हत्यारालाई बचाउन घटनामा भेटिएका सबै प्रमाण नष्ट गरेको समेत उनले आरोप लगाएका छन् । देशमा हत्या हिंसाका घट्नामा वृद्धि हुँदासमेत सरकार रमिते बसेको औंल्याउँदै सरकार सुध्रिनु पर्नेमा जोड दिएका छन् । सरकारका हरेक गतिविधि र चाल चलन निकै खराब भएको बताउँदै उनले भने कांग्रेस सरकारका हरेक कामको अब रमिते र मुकदर्शक बनेर बस्दैन ।

राम्रा काममा कांग्रेसको साथ, सहयोग रहने तर गलत कामको ठाडो विरोध गर्ने उनले बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा रामशरण महतले वर्तमान सरकारले हावादारी गफ लगाउँदै हिँडेर विकास निर्माणका क्षेत्रमा केही काम नगरेको आरोप लगाएका छन् । नब्बे प्रतिशत राष्ट्रिय योजना कांग्रेस सरकारकै पालामा सुरुआत भएको जानकारी गराए । कम्युनिष्टहरू हावादारी कुरा मात्र गर्ने भएकाले काम केही नगरेको आरोप लगाउँदै उनले भने, काम केही नगर्ने र अरुले गरेका राम्रा काम पनि आफैँले गरेको भन्दै हिँड्ने प्रवृत्ति कम्युनिष्टमा हावी भएकाले विकासले गति लिन सकेको छैन ।

नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य दिलबहादुर घर्तीले कम्युनिष्ट सरकारले प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरी संसदीय शासन व्यवस्थामाथि नै हस्तक्षेप गरेको आरोप लगाएका छन् । कम्युनिष्ट सरकारले ल्याउन खोजेको अधिनायकवादका विरुद्ध सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेस युनियन एक भएपछि कांग्रेस पार्टी एकजुट हुने अपेक्षा गर्दै सबै जिल्लामा प्रेस युनियनलाई एकढिक्का बनाउने अभियानमा लागेको बताएका छन् ।