कभर स्टोरी

सोलुखुम्बु–काठमाडाै‌ सडकमा हिमपातका कारण सडक अवरुद्ध

By Bala Adhikari

January 24, 2019

सोलुखुम्बु, माघ १० । सोलुखुम्बु–काठमाडाँै सडकमा हिउँ जमेपछि सडक अवरुद्ध भएको छ । बुधबार भएको हिमपातका कारण सोलुखुम्बु–काठमाडाँै सडकमा यातायात पूर्णरुपमा ठप्प भएको जानकारी पाइएको छ । पैदल यात्रुको आवतजावत हिउँका कारण पातलिएको छ । सडक मार्गको मुख्य नाका जिल्लाको पत्तालेमा बाक्लो हिउँ जमेका कारण बुधबारदेखि बिहीबार बिहानसम्म कुनै पनि यातायातका साधन सञ्चालन हुन नसकेको प्रहरीले बताएको छ ।

सडक अवरुद्ध हुँदा राजधानी काठमाडाँै, प्रदेशको अस्थायी राजधानी विराटनगर लगायत क्षेत्रसँग सोलुखुम्बुको सिधा सडक सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सञ्जीव चौधरीले बताएका हुन् ।

उनकाअनुसार हिउँ जमेको अवस्थामा सवारी सञ्चालन गर्दा हुनसक्ने दुर्घटनालाई दृष्टिगत गरी जिल्ला भित्रने सवारी साधन ओखालढुङ्गाको ढाडेमा र जिल्लाबाट बाहिर जाने सवारी साधनलाई जिल्लाको बाघखोरमा रोकिएका छन् । प्रहरी चौकी पत्तालेका हबल्दार विजय सिवाले पत्ताले क्षेत्रमा हिजोदेखि चार ओटा मालवाहक ट्रक फसेको प्रष्ट पारे ।

उक्त मालवाहक ट्रक मोडमा फसेको र जेसिवीले समेत तान्न नसकेका कारण उद्धार गर्न नसकिएको उनले बताए । मौसममा सुधार आए पनि छायाँ परेको सडक भागमा घाम लाग्न नसक्दा समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी गराएको छ ।

सडक यातायात सञ्चालन नहुने भएपछि यात्रु अलपत्र परेका छन् । बुधबार साँझ सदरमुकाम सल्लेरी आएका केही यात्रु जीपमार्फत बाखखोरमा पुगेर बसेका छन् भने केही यात्रु सदरमुकाम सल्लेरीमै बसेका छन् । आकस्मिक काम परेका यात्रुलाई भने यातायात सञ्चालन नहुँदा समस्या भएको छ । अहिले झन्डै एक सय यात्रु पत्ताले क्षेत्रमा रोकिएको ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले बताए । मौसममा सुधार आएपछि आज साँझसम्ममा सवारी आवगमन खुलाउने प्रयास भइरहेको उनले बताए ।