कभर स्टोरी

विभिन्न क्याम्पसअगाडि नेविसंघको विरोध, संयूक्त आन्दोलनको घोषणा

By Bala Adhikari

January 27, 2019

काठमाडौँ, माघ १३ । संसद्ले चिकित्सा शिक्षा विधेयक जबरर्जस्तीरूपमा पारित गरेको भन्दै नेपाल विद्यार्थी संघले आज विरोध जनाएको छ । नेविसंघले आज बिहान उपत्यकाका क्याम्पसहरु त्रिचन्द्र, पशुपति, ग्रामीण आदर्श, सरस्वती, पाटन क्याम्पसअगाडि विरोध प्रर्दशन गरेको हो ।

नेविसंघका नेता दीपक भट्टराईले सरकारले बहुमतको आधारमा आमरण अनशनरत डा गोविन्द केसीको मागलाई सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेकाले विरोध गरेको जानकारी गराइएको छ । कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्रीद्वयका नाममा स्थापित अस्पताललाई समेत राजनीतिक पूर्वाग्रहका आधारमा स्वीकृति नदिएको स्पष्ट पार्दै उनले भने, त्यसैले हामी आन्दोलनमा उत्रेका हौँ, सरकारले प्रतिपक्षको मतान्त्तरलाई सुन्नु पर्दछ ।

नेविसंघ काठमाडौँका अध्यक्ष मनोज वैद्यले सरकारले चिकित्सा शिक्षा विधेयक पारित फिर्ता नलिएसम्म आन्दोलन निरन्तर जारी राख्ने जानकारी गराएका छन् । आन्दोलनका क्रममा उपत्यकाका विभिन्न क्याम्पसबाट प्रहरीले विद्यार्थीलाई पक्राउ समेत गरेको छ ।

यसैबीच नेविसंघ, तरुण दल, महिला संघले आज चिकित्सा शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्ने जानकारी गराएको छ । सरकारले गोविन्द केसीका कुरालाई बेवास्ता गर्दै बहुमतका आधारमा अघि बढे त्यसको ठूलो मुल्य चुकाउनु पर्ने उनीहरुले बताएका छन् ।