कभर स्टोरी

प्रतिपक्षलाई पेलेर नै ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ टेबल गरीयो

By Bala Adhikari

January 28, 2019

काठमाडौँ, माघ १४ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ लाई टेबल गरेका छन् । आजको दोस्रो बैठक शुरु भए सँगै नेपाली कांग्रेसका सांसदहरु आ–आफ्ना स्थानबाट उठी बैठकलाई अवरोध गरेका थिए ।

अवरोधका बीचमा नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आजको शून्य, विशेष समय नहुने र दैनिक कार्यसूचीबाट विभिन्न बुँदा हटाएको जानकारी गराए । यसपछि नेपाली कांग्रेसका सांसद आ–आफ्ना आशनबाट उठी रोष्टम अगाडि गई नाराबाजी गरिरहेका थिए । नाराबाजीका बीचमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ लाई टेबल गरे ।

प्रतिपक्षको असहमतिका बिच नै उनले सो ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ लाई टेबल गर्न सफल शहुनु भनेको बहुमतको दम्भमा सरकार केन्द्रित हुनु नै हो । अध्यक्ष तिमल्सिनाले बैठक आधा घण्टाका लागि बैठक स्थगन गरे पनि पुनः प्रतिपक्षलाई पेलेर नै सो विधेयकको टेवल गर्न भ्याए । राष्ट्रियसभाको आजको पहिलो बैठक पनि नेपाली कांग्रेसको अवरोधका कारण स्थगन गरिएको थियो ।

आफ्ना शीर्ष नेता स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै कांग्रेसले आजको बैठक सञ्चालनमा अवरोध गरेको हो । यसअघि माघ दुई र सात गतेको बैठक पनि कांग्रेसले सोही कारण अवरुद्ध गरेको थियो ।

मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौ वटा ठूला अस्पताल संघअन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो । तर जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र (तनहुँ) र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके) कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय नगरेको बताइन्छ । यसमा कांग्रेसले आपत्ति जनाउँदै आएको छ ।