कभर स्टोरी

निजी पुस्तकालय स्थानीय समुदायका लागि खुला

By Bala Adhikari

January 28, 2019

काठमाडौँ, माघ १४ । भक्तपुर बोडेस्थित लाछी टोलका सञ्जीव श्रेष्ठले ‘जन्मभूमि बोडे पुस्तकालय’ स्थापना गरेका छन् । स्थानीय लाछी टोल तथा त्यस वरपर क्षेत्रका बासिन्दालाई औपचारिक तथा अनौपचारिक शिक्षामा प्रेरित गर्ने उद्देश्यले श्रेष्ठले घरको निजी पुस्तकालय स्थानीय समुदायको प्रयोगको लागि खुला गरेका हुन् ।

विगतमा विभिन्न माध्यमबाट श्रेष्ठले सङ्कलन गरेका करीब १० हजार पुस्तक उक्त पुस्तकालयका समावेश गरिएको छ । पुस्तकालयको उद्घाटन कार्यक्रममा नेपाल पुस्तकालय संघका अध्यक्ष इन्द्रप्रसाद अधिकारीले मुलुकमा निजी पुस्तकालय राख्ने चलन पहिलेदेखि नै रही आएको जानकारी गराउँदै राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय, मदन पुरस्कार पुस्तकालय, डिल्लीरमण रेग्मी पुस्तकालय आदि पुस्तकालय पहिले निजी पुस्तकालय रहेको र पछि राष्ट्रिय महत्वका पुस्तकालयका रुपमा स्थापित भएको प्रष्ट्याएका थिए ।

स्थानीय विद्यालय तथा कलेजका प्राचार्यको सहभागिता रहेको उक्त कार्यक्रममा पुस्तकालयका संस्थापक सञ्जीव श्रेष्ठले पठन संस्कृतिको विकास गर्न तथा स्थानीय जनतालाई ज्ञान र सूचना दिलाउन आफूले पुस्तकालय स्थापना गरेको बताउँदै यसलाई प्रविधिमैत्री बनाइने विचार व्यक्त गरेका थिए ।