कभर स्टोरी

मुख्यमन्त्री पौडेलद्वारा शहीदहरु प्रति सम्मान

By Bala Adhikari

January 30, 2019

हेटौँडा, माघ १६ । शहीदको सपनाअनुसार प्राप्त उपलब्धिकै कारण नेपालमा राजनीतिक सफलता प्राप्त गरेको मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । प्रदेश राजधानी हेटौँडाको शहीद स्मारकमा प्रदेश सरकारको आयोजनामा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्री पौडेलले निरङ्कुश व्यवस्था स्वीकार गरेर माफी माग्नुभन्दा प्रजातन्त्रका लागि हाँसीहाँसी जीवन त्याग गर्ने शहीदको योगदान अमूल्य भएकाले सम्मान गरिनुपर्ने प्रष्ट्याएका छन् ।

हेटौँडाको चर्चित शहीद स्मारकका संस्थापकसमेत रहेका पौडेलले नेपाल निर्माण अभियान तथा नेपाल अङ्ग्रेज युद्धमा योगदान दिने भक्ति थापा एवं विभिन्न समयमा शहीद भएकाप्रति सम्मान प्रकट गर्न स्मारक स्थापना भएको स्मरण गर्दै आज आफू मुख्यमन्त्री हुँदासमेत स्मारक व्यवस्थापनको जिम्मेवारी छाड्न मन नभएको जानकारी गराएका छन् ।

नेपालमा स्वतन्त्रता, स्वाधिनता र प्रजातन्त्रको माग राखी आफ्नो जीवन नै अर्पण गर्ने शहीदको त्याग, तपस्या र बलिदानको सदैव स्मरण र सम्मान गरिनुपर्ने कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले भने । शहीदले जहाँनिया राणा शासनदेखि संविधान निर्माण प्रक्रियासम्मका हरेक आन्दोलनमा आफ्नो रगत बगाएर देशमा गणतन्त्र स्थापना गराएको र राजनीतिक आन्दोलन समाप्त भएकाले आर्थिक क्रान्तिमा लाग्नुपर्ने उनले प्रष्ट पारे ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेश योजना आयोगका सदस्य, प्रदेश सांसद, नेपाली सेनाका मध्यपृतनापति, प्रदेश प्रहरी प्रमुख तथा प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहका प्रतिनिधिको कार्यक्रममा उपस्थिति रहेको र शहीदको प्रतिमामा पुष्पगुच्छा अर्पण तथा माल्यार्पण गरेर शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिएको समेत थियो ।