कभर स्टोरी

खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने ः वरिष्ठ नेता पौडेल

By Bala Adhikari

January 30, 2019

दमौली, माघ १६ । खेलकूदको क्षेत्रमा नेपालले फड्को मार्न थालेको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । व्यास नगरपालिकाले शहीद दिवसका अवसरमा आयोजना गरेको दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकूदमा नेपालले प्राप्त गरेको सफलताले देशको शान बढाउन सहयोग पुर्याउने बताए ।

खेलकूदको क्षेत्रबाट नेपाल विश्व समुदायमाझ चिनिन सफल भएको छ, यो सकारात्मक पक्ष रहेको वरिष्ठ नेता पौडेलले भने । खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको दौड प्रतियोगिताले व्यास नगरपालिकालाई समेत परिचय गराउन सहयोग पुग्ने उनले बताए ।

खेल क्षेत्रको माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउन खेलाडीले प्रयत्न गर्नुपर्नेमा राष्ट्रिय धावक वैकुण्ठ मानन्धरले जोड दिए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकूदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित वार्षिकरुपमा म्याराथन प्रतियोगिता आयोजना गरिने जनाएका छन् ।