आर्थिक

टेलिकमलाई चुनौतीरहित अग्रणी संस्था बनाइनुपर्नेमा जोड

By Bala Adhikari

February 05, 2019

काठमाडौँ, माघ २२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रको सञ्चार नेपाल टेलिकमलाई चुनौतीरहित अग्रणी संस्थाको रूपमा स्थापित गरिनु पर्नेमा जोड दिएका छन् । नेपाल टेलिकमको १५ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले कम्पनीको सम्पूर्ण क्षमताको भरपुर उपयोग गर्दै सेवालाई जनताको सहज पहुँचमा पु¥याई सेवा गुणस्तरमा ध्यान दिनुपर्ने खाँचो औँल्याएका छन् ।

कम्पनी (टेलिकम) लाई जनताले माया र विश्वास गरेका छन् तर सम्पूर्ण क्षमताको प्रयास चाहिँ अलमल र जिम्मेबारीबाट पन्छिएको जस्तो भएको जानकारी गराउँदै उनले टेलिकम ‘नम्बर वान’ रहेको, अझ प्रभावकारी हुनुपर्ने र चुनौतीविहीन नम्बर वान नै भई रहनु पर्ने बताएका छन् । उनले टेलिकमभित्र कुनै जटिल विषय आउनासाथ तर्सिनको सट्टा सहज वातावरणमा द्रुत गतिमा अघि बढाउने बाटोमा कर्मचारी लाग्नु पर्ने औंल्याएका छन् । को आयो को गयो मतलब नगर्ने शैलिको अन्त्य गर्दै, इमान्दार बनेर काम गर्ने, कुनै कुरामा तर्सिनु नपर्ने, इमान्दारीता पूर्वक सबैले काम गर्नु पर्नेमा सञ्चारमन्त्री बाँस्कोटाले जोड दिएका छन् । उनले टेलिकमको चौथो पुस्ताको सेवा ‘फोरजी’ विस्तारमा विलम्ब भएकोप्रति इङ्गित गर्दै दीर्घकालीन महत्वका आयोजनालाई यो वा त्यो बहानामा अल्झाइराख्नु उपयुक्त नहुने धारणा राखेका छन् ।

फोरजी वर्ष दिन सम्म पनि अल्झिएको बताउँदै उनले भने, संसदीय समितिमा जवाफ दिँदै हैरान भएको छ । कि त औचित्य छैन भन्नुप¥यो, होइन भने सबल बनाउन सबै लाग्नुपर्छ । टेलिकमको हितमा कोहीसँग पनि घुँडा टेकिन्नँ, गल्ती नगरेसम्म डराइन्नँ । फोरजी, अप्टिकल फाइबरलगायतका महत्वपूर्ण आयोजना अघि बढेसँगै टेलिकम सुध्रिएको सङ्केत देखिएको भन्दै उनले निजी क्षेत्र नाफा कमाउने क्षेत्रमा मात्रै पुग्ने भएकाले टेलिकम त्योभन्दा फरक गरीब जनताको क्षेत्रमा जाने भएकाले उसँगको प्रतिस्पर्धामा अल्झन नहुने स्पष्ट पारेका छन् । सञ्चारमन्त्री बाँस्कोटाले फोरजी सेवालाई एक वर्षभित्रै मुलुकभर विस्तार गरिने जानकारी गराएका छन् । जस्तो सुकै चुनौती आए पनि १२ महीनामा फोरजी सक्नुपर्ने प्रष्ट्याउँदै उनले भने, अब समय तालिकामा काम गर्ने हो ।

सरकारले त्यतिकै आर्थिक समृद्धिको कुरा गरेको छैन । समृद्धिको एउटा मेरुदण्ड टेलिकम पनि हो, यसको सेवा र गुणस्तर प्रभावकारी हुनुपर्छ । यसका लागि सबै कर्मचारी क्रियाशिल र सशक्त हुन आवस्यक छ । साथै दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकममा अब छुट्टै पूर्वाधार कम्पनी स्थापना गरिने भएको छ । टेलिकमको नेतृत्वमा पूर्वाधार कम्पनी खडा गरिने सञ्चारमन्त्री बाँस्कोटाले बताएका छन् । चालकदेखि प्रबन्धकसम्म आफुले अनुरोध गरेको प्रष्ट पार्दै उनले एकताबद्ध भएर काम गरेमात्र संस्थाको अस्तित्व जोगिने बताएका छन् । अर्काको रिस गरेर नहुने बताउँदै उनले भने, हामीले आफ्नो क्षमता देखाउनुपर्छ । कामको गति बढाउनुपर्छ, भएको जनशक्तिलाई प्रभावकारी बनाउनुपर्छ । टेलिकममा रणनीतिक साझेदार भित्र्याउने सन्दर्भमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री बाँस्कोटाले साझेदारी प्राविधिक विषय भएकाले सकेसम्म जनताको साझेदारी खोज्ने पक्षमा सरकारको ध्यान गएको जानकारी गराएका छन् ।

सकेसम्म आफैँ गराँै भन्ने हेतु रहेको बताउँदै उनले ठूलो रकम बाहिरिने सम्भावना भएको बताएका छन् । जनताले पानीमा लगानी गर्न हुने, टेलिकममा लगानी गर्न नहुने भन्ने के छ भनी उनले प्रश्न समेत गरेका छन् । यसमा ठूला कम्पनी पनि सामेल हुनसक्ने उनको धारणा छ । कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले टेलिकम महत्वपूर्ण आयोजना कार्यान्वयनको चरणमा रहेकाले सम्पूर्ण क्षमताको भरपूर उपयोग गरी सेवालाई जनमुखी र प्रभावकारी तुल्याइनुपर्ने खाँचो औँल्याएका छन् । महत्वपूर्ण आयोजना अघि बढ्दै गरेको स्पष्ट पार्दै उनले केही चुनौती भए पनि अवसर उत्तिकै भएकाले फोरजी, अप्टिकल फाइबरलगायत आयोजनालाई समयभित्रै सम्पन्न गर्न सबै जिम्मेवारीपूर्वक लाग्न जरुरी रहेको बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनालले टेलिकमको सेवालाई भरपर्दो, गुणस्तरीय र सर्वसुलभ बनाई दुर्गम क्षेत्रका जनताको पहुँचमा पु¥याइनुपर्नेमा जोड दिएका छन् । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमको प्रगति विवरण प्रस्तुत गर्दै सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाइने जानकारी गराए । टेलिकम कर्मचारी ट्रेड युनियनका प्रतिनिधि राजबहादुर रावलले सेवा सुदृढीकरणसँगै कर्मचारीको वृत्ति विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । सो अवसरमा टेलिकमले टेलिकमसम्बन्धी समाचार सम्प्रेषण गर्ने उत्कृष्ट दुई पत्रकारलाई ‘टेलिकम पत्रकारिता पुरस्कार’ बाट सम्मान गरेको थियो ।

कारोवार दैनिकका पत्रकार सरस्वती ढकाल र दी हिमालयन टाइम्सका सुजन ढुङ्गानालाई जनही नगद रु ४० हजार र प्रशंसा–पत्रसहित सम्मान गरिएको हो । ती पुरस्कार सञ्चारमन्त्री बाँस्कोटाले वितरण गरेका थिए । यस्तै, टेलिकमले निर्धारण गरेको एक अर्ब २५ करोड कार्ड बिक्री गर्ने सात कार्ड विक्रेता कम्पनी र ५० करोड बिक्री लक्ष्य पूरा गर्ने तीन कम्पनीलाई सम्मान गरेको थियो । सोही अवसरमा सञ्चारमन्त्री बाँस्कोटाले टेलिकमको स्मारिका विमोचन समेत गरेका थिए । टेलिकममा २० वर्ष सेवा गर्नेे १७० कर्मचारीलाई दीर्घसेवा पदकद्वारा सम्मान गरिएको थियो ।