nc news

नेविसङ्घका नेताहरुलाई तत्काल रिहा गर्न कांग्रेसको माग

By Bala Adhikari

February 05, 2019

काठमाडौँ, माघ २२ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आन्दोलनका क्रममा पक्राउ परेका भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महर लगायतका नेताहरुलसई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । काङ्ग्रेसले आज एक विज्ञप्तिमार्फत आन्दोलनमा रहेका विद्यार्थी नेता पक्राउ गरिएको भन्दै घटनाको घोर भत्सना गर्दै पक्राउ परेका सबै विद्यार्थी नेतालाई तुरुन्त रिहाइ गर्न आग्रह गरेको हो ।

मुलुकमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार, महँगी, भ्रष्टाचारका अतिरिक्त संविधान, सङ्घीयता र संसदीय व्यवस्थाको मर्म र भावना विपरीत क्रियाकलाप बढेको भन्दै सङ्घले आन्दोलन गरिरहेको छ । यसै क्रममा पोखरामा भएको विरोध प्रदर्शनमा विद्यार्थी नेताहरु परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई झुट्टा मुद्दामा फसाएर थुनामा राखेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो घटनाको विरोध गर्दै गिरफ्तार विद्यार्थी नेताको रिहाइको माग गर्दै काठमाडौँको नयाँ बानेश्वरमा आज गरिएको प्रदर्शनमा सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष नवीन राईलगायत विद्यार्थी नेता डम्बर सुनार, प्रेम शाही, शङ्कर खड्का, सरोज तिमिल्सिना, निराजन नेपाल, सञ्जीव ढकाल, रबिन केसी, सञ्जीव खड्का, सागर पाण्डे, हृदयराज मिश्र, सुनील सोडारी, तपेन्द्र बुढा, सुवास अधिकारी, सुरज सैजुवाल, अशोक सिंह विष्ट, अनुराग शाह, जेम सिंह राई र रोहित नेपाललाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै पोखरामा भएको आजको प्रदर्शनमा सङ्घका केन्द्रीय सदस्य भानु ढकाल, सागर सापकोटा, गोविन्द नेपाली, विधान लामिछाने लगायतका विद्यार्थी नेतालाई पनि गिरफ्तार गरिएको काङ्ग्रेसले जानकारी गराएको छ । नेपाली काङ्ग्रेसले यही माघ २१ गते मुलुकभर गरेको विरोध प्रदर्शनमा स्वतस्फूर्त अपार जनसहभागिता भएको भन्दै प्रदर्शनमा सहभागी सबैलाई धन्यवाद समेत दिएको छ । काङ्ग्रेसले आजै एक विज्ञप्तिमार्फत अलोकतान्त्रिक क्रियाकलापलाई निस्तेज पार्न भविष्यमा पनि अझ बढी सक्रियता हुने पार्टीले विश्वास व्यक्त गरेको बताएको छ ।

काङ्ग्रेसले सत्ता पक्षले अलोकतान्त्रिक र असंसदीय क्रियाकलाप गरेको, मुलुकमा भ्रष्टाचार, महँगी, हत्या, हिंसा र बलात्कार बढेको, मित्र राष्ट्रसँगको नेपालको सन्तुलित परराष्ट्र नीति र समदुरी भावका विपरीत विवादास्पद अभिव्यक्ति दिएको, जनअपेक्षाअनुसारका काम गर्न नसकेको आरोप लगाउँदै खबरदारी गर्न भन्दै सोमबार ७७ जिल्लामा विरोध प्रदर्शन गरेको थियो ।