आर्थिक

नेपालको आर्थिक अवस्थामा सुधार ल्याउने : मन्त्री विश्वकर्मा

By Bala Adhikari

July 31, 2017

इटहरी, साउन १६ । नेपालले वाणिज्य क्षेत्रमा घाटा बेहोर्दै आएकाले घाटा पूर्ति गर्ने विषयमा केन्द्रित रहेर नेपालको आर्थिक अवस्थामा सुधार ल्याउन काम गर्ने वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले बताए ।

सुनसरीको इटहरी उपमहानगरपालिका– २० तरहरामा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा आर्थिक अवस्था सुधारका लागि दृढ भएर काम गर्ने मन्त्री विश्वकर्माले बताए । प्रदेश नं १ मा हुने उत्पादनलाई निर्यात योग्य बनाएर विदेशी बजारमा प्रवद्र्धन गर्न पहल गर्ने मन्त्री विश्वकर्माले प्रतिबद्धता पनि व्यक्त गरे ।

पूर्वी नेपालका किसानले उत्पादन गर्दै आएको अदुवा, अकबरे खुर्सानी, चिया, रुद्राक्ष, अलैँची, चिया, कफी, दूधलगायतलाई निर्यात गर्न सकिने बस्तुको स्तरीकरण एवम् प्रशोधन गर्ने विषयमा विशेष ध्यान पुर्याउने उनको भनाइ छ ।

करदाताको सम्मान गर्ने गरी मन्त्रालयले नीति ल्याउन लागेको उनले बताए । खुशीसाथ कर तिर्न तयार हुने वातावरण बन्न नसकेसम्म देशले उन्नति गर्न नसक्ने उनको भनाइ छ । चाँडै नै करदाता सम्मान कार्ड वितरण गर्ने तयारीमा मन्त्रालय लागि परेको मन्त्री विश्वकर्माले बताए ।