nc news

मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक अवस्थामा हस्तान्तरण गरेको हो : काँग्रेस

By Bala Adhikari

February 17, 2019

काठमाडौँ, फागुन ५ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको एक वर्षको समीक्षा गर्दै काँग्रेसले मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक अवस्थामा हस्तान्तरण गरेको दाबी गरेको छ ।

आज दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन मार्फत् काँग्रेसले सरकारको एक वर्षको उपलब्धीबारे टिप्पणी गर्दै सरकारले अघिल्ला सरकारले गरेका काम समेत तहसनहस बनाएको आरोप लगाएको छ ।

काँग्रेसले गरेका कामको जस लिदैं सरकारको एक बर्षे कार्यकाल बितेको समेत काँग्रेसले दावी गरेको छ । गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै दिएको अभिव्यक्तिको खण्डन गर्दै काँग्रेसले संविधान निर्माण गरेर, तीनै तहका निर्वाचन गरि सबै सूचकांककाहरु सन्तोषजनक स्थितीमा छाडेर हिँडेको जानकारी गराएको छ ।

प्रधानमन्त्रीले भनेको हजारौं माईलको यात्रा पनि एउटा पाईलाबाट नै सुरु हुन्छ भनेको प्रति टिप्पणी गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको १२ महिनाको १२ पाईला नै लरखराएको र हजार माईलको यात्राको सम्भावना नै कम देखिएको बताएका छन् ।

उनले अहिले समृद्धिको जग हाल्दैमा छानो खोजिएको भन्दै दिएको अभिव्यक्ति प्रति उनले सरकारले समृद्धिको जग नै बालुवाको रहेकोले पनि प्रतिपक्षी दलले सरकारलाई झक्झक्याउँदै आएको शर्माले बताएका छन् ।