Uncategorized

मुस्लिम धार्मिक सम्मेलन भोलिसम्म चल्ने

By Bala Adhikari

February 17, 2019

बाँके, फागुन ५ । दाउते इस्लामी नेपालको आयोजना नेपालगन्जमा अन्तर्राष्ट्रिय स्तरको मुस्लिम धार्मिक प्रचवन कार्यक्रम जारी रहेको छ । दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारी शनिबार पाकिस्तानबाट नेपालगंज आएर सम्मेलनलाई सम्बोधन गरेका थिए ।

कार्यक्रममा भारत, बगलादेश, यूएइ,यूएसए, पकिस्तान सहित दर्जनौ देशका धार्मिक ज्ञाताहरुले कार्यक्रमलाई सम्बोधन गरेकोे दाउते इस्लामी नेपालका अध्यक्ष रमजान अलि मियाले जानकारी गराएका छन् । दाउते इस्लामीले आयोजना गरेको सम्मेलनले धार्मिक मात्रै हैन, यसले समाजमा मेलमिलाप र सदभाव अझै बढाउँछ भन्ने लागेको स्थानीय जियाउ हक हल्वाईले बताए ।

विश्वमा बढ्दै गइरहेको बेरोजगारी अमानवियता र अशान्तिविरुद्ध धार्मिक चिन्तनद्वारा विश्वमा भाइचारा, अमनचयन, शान्ति कायम गर्ने उद्देश्यले नेपालगंजमा दाउते इस्लामी नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन सोमबार सामूहिक प्राथना सहित समापन हुने आयोजकले जानकारी गराएका छन् । नेपालगंजमा जारी सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्न बाँके प्रहरीले सुरक्षा प्रदान गर्नुका साथै भारतबाट आएका दाउते इस्लामीका बिद्यार्थीहरुलाई जमुनहाबाट नेपालगंज आउनका लागि विगतका वर्ष भन्दा यस वर्ष प्रहरीले सहज वातावरण बनाएको आयोजकले बताएको छ ।

सम्मेलन समापनका क्रममा दाउते इस्लामी नेपालममा अध्ययन गरेका बिद्यार्थीहरुलाई इस्लामीक उपाधी दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारीले प्रदान गर्ने नेपालका अध्यक्ष मियाले जानकारी गराएका छन् । उपाधी पाउनेहरु अधिकाश नेपालका बिद्यार्थी नै भएको बताइएको छ ।