ललितपुर, फागुन ७ । ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन, सडक बालबालिका तथा महिलाको समस्या समाधान र लागू औषध तथा अपराध नियन्त्रणको लागि समिति गठन गरेर काम थाल्ने भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पालिका समितिको सोमबार महानगरपालिकामा आयोजित बैठकमा समिति गठन गर्ने निर्णय गरिएको हो ।
ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी निरीक्षक राजेश सिलवालको संयोजकत्वमा ,महिला बालबालिकाको विषयमा महिला विकास अधिकृत महेश्वरी विष्टको संयोजकत्वमा समिति गठन गरिने भएको छ । यसैगरी लागू औषध तथा अपराध नियन्त्रणको लागि दीपु जोशीको संयोजकत्वमा समिति गठन गरि काम थाल्ने निर्णय गरिएको छ । बैठकमा ललितपुर महानगरपालिकामा मेयर चिरीबाबु महर्जनले यी सिमितिले जनतामा प्रत्यक्ष प्रभाव पार्ने काम गर्नुपर्ने बताएका छन् । उनले सवारी चापको तुलनामा सडकको क्षमता नबढेको बताउँदै ट्राफिक व्यवस्थापन सहरको चुनौति भएको जानकारी गराएका छन् ।
एक एक गर्दै समस्या सम्बोधन गर्ने बताउँदै उनले भने, धेरै काम एकैपटक गर्छु भन्दा एउटै काममा समेत सफल हुन सकिदैंन । उनले जनतालाई प्रत्यक्ष प्रभाव पार्न सकिने काम गर्नुपर्नेमा जोड दिएका छन् । उपमेयर गीता सत्यालले महानगर महिला, बालबालिका र जेष्ठ नागरिकको समस्याप्रति संवेदनशील भएको जानकारी गराएकी छिन् । यातायातमा महिला र र जेष्ठ नागरिकले भोगेको समस्या समाधान गर्न ट्राफिक प्रहरीसँगको सहकार्यमा काम गर्ने बताएकी छिन् ।
बैठकका सहभागिले लागू औषधको विक्री वितरण र ओसारपसार रोक्न वडा स्तरमा नै जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिइएको छ । उनीहरुले अपराधिक गतिविधि धेरै हुने स्थानमा विशेष किसिमको सिसि क्यामेरा जडान गर्नुपर्ने जानकारी गराएका छन् । सवारी साधनको आवागमनलाई सहज बनाउन ट्राफिक लाइट र चिन्हहरु जडान गरी त्यसको प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने उनीहरुको धारणा छ ।
सडक, पेटीहरुमा बसोबास गर्ने महिला तथा बालबालिकाको सम्बन्धित निकायमा व्यवस्थापन गर्न महानगरले पहल गर्नुपर्ने जानकारी गराउका छन् । साथै बैठकमा सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गएको कात्तिकदेखि आयोजना गरिएका कार्यक्रमको जानकारी गराइएको थियो । जस अन्तर्गत सार्वजनिक सुनुवाई , अभिमुखिकरण कार्यक्रम, स्कुल प्रशिक्षण कार्यक्रम , जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । जनचेतनामूलक ¥याली, सरसफाई , पर्चा पम्पेल्ट वितरण गर्ने कार्यक्रम समेत आयोजना भएका छन् ।