कभर स्टोरी

विश्वकप एशिया छनोटमा नेपालको दोस्रो खेल

By Bala Adhikari

February 21, 2019

काठमाडौँ, फागुन ९ । नेपालले अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा आज घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गरी नेपालले सुखद प्रारम्भ गरेको थियो । तर, बलियो थाइल्याण्डविरुद्ध जित निकाल्न नेपाललाइ निकै ठुलो र कठिन चुनौती छ । गत महिना महिला टि–२० स्म्यास प्रतियोगितामा थाइल्याण्डले नेपाललाई नौ विकेटले पराजित गरी उपाधि हाँसिल गरेको थियो ।

यस्तै थाइल्याण्ड पनि दोस्रो जितको खोजीमा रहेको छ । थाइल्याण्डले पहिलो खेलमा चीनलाई छ विकेटले पराजित गरेको थियो । दुई खेलमा दुई जितका साथ युएई अङ्क तालिकाको पहिलो स्थानमा रहेको छ । समान एक जित निकालेको नेपाल र थाइल्याण्ड रन रेटका आधारमा क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।

राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्ने छ । आजको खेल जित्न सके नेपाल ग्लोबल छनोटमा पुग्ने नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दासले दाबी गरेका छन् । उनका अनुसार, “प्रतियोगितामा सहभागी टोलीमध्ये सबैभन्दा बलियो टोलीको रुपमा थाइल्याण्डलाई हेरिएको छ, हामीले आज थाइल्याण्डविरुद्ध जित निकाल्न सके अर्को चरणमा पुग्ने सम्भावना बलियो हुनेछ ।” यसैबीच भर्खरै थाइल्याण्डले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ ।