कभर स्टोरी

आठौँ राष्ट्रिय खेलकूद २०७५ प्रतियोगिता प्रारम्भ

By Bala Adhikari

February 21, 2019

चरिकोट, फागुन ९ । प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता आठौँ राष्ट्रिय खेलकूद २०७५ अन्तर्गत बुधबारबाट शुरु भएको छ ।

प्रदेश खेलकूद परिषद्को आयोजना र जिल्ला खेलकूद विकास समिति दोलखाको सहआयोजनामा शुरु भएको उक्त प्रतियोगितामा १२ जिल्लाका खेलाडी सहभागी हुने भएको आयोजकले जानकारी गराएको छ । सहभागी हुने जिल्लामा प्रदेश नं ३ अन्तर्गतको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाडाँै, ललितपुर, नुवाकोट, धादिङ, चितवन, मकवानपुर रहेका छन् । खेल अवधिभर सबै खेलाडीको मूल्याङ्कन गरिने र १२ टिमभित्रबाट खेलाडी छनोट गरी प्रदेश नं ३ को महिला भलिबल टिम बनाइने खेल संयोजक उमेश केसीले बताए ।

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नारासहित चरिकोट टुँडिखेल मैदानमा शुरु भएको सोही खेल फागुन ११ गतेसम्म सञ्चालन हुने जिल्ला खेलकूद विकास समिति दोलखाका अध्यक्ष हिरा थोकरले बताएका छन् । दोलखा र काभ्रेबीच भएको पहिलो खेलमा दोलखा तथा भक्तपुर र धादिङबीच भएको खेलमा भक्तपुरले जित हात पारेका छन् ।