सुर्खेत, फागुन १२ । किसानका लागि नेपाल राष्ट्र बैंकले सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि रु पाँच करोडसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको हो ।
व्यावसायिक कृषि, पशुपक्षी, घरेलु तथा साना उद्योग, लघुउद्योग, शिक्षित युवा, विदेशबाट फर्केका युवा र बेरोजगार युवाका लागि नेपाल राष्ट्र बैंक नेपालगञ्जका निमित्त निर्देशक नारायण पोखरेलले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिइएको जानकारी गराएका छन् । उनले थोक कर्जा वितरक र सहकारी संस्थाहरुबीच समन्वय’ विषयक वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बताए ।
राष्ट्र बैंकले सञ्चालन गर्दै आएको ग्रामीण स्वावलम्बन कोष बन्द हुन लागेको जानकारी समेत उनले दिएका छन् । साथै आगामी असारदेखि ग्रामीण स्वावलम्बन कोष बन्द गर्ने जानकारी निमित्त निर्देशक पोखरेलले दिए । उनले भने, लघुवित्त संस्था र बैंकहरुले उक्त प्रकृतिको काम गरिरहेकाले कोष बन्द गर्ने निर्णयमा हामी पुगेका हौँ ।”
दैलेख, जाजरकोट, पश्चिम रुकुम, रोल्पा, प्यूठान, सल्यान र सुर्खेतका २० हजार बढी किसानलाई वित्तीय साक्षरता प्रदान गरेपछि शेयर सदस्यको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन (पहल) कार्यक्रमका वित्तीय सेवा अधिकृत विश्व श्रेष्ठले दाबी गरे । उनले सहकारीका सदस्यको बढ्दो ऋण मागलाई सम्बोधन गर्न थोक कर्जा प्रवाह गर्ने सहकारीसँग पनि समन्वय बढाउन सुझाव समेत दिए ।
सहकारी संस्थालाई व्यावसायिक कृषि तथा पशुपालनमा लगानी बढाउन सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुसालले आग्रह गरे ।