ललितपुर, फागुन १३ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जावलाखेल भलिबल क्लबलाई मेयर कप भलिबल प्रतियोगिता सञ्चालन गर्न विशेष अनुरोध गरेका छन् ।
जावलाखेल भलिबल क्लबद्धारा आयोजित एक दिवसीय मैत्रीपूर्ण भेट्रान भलिबल प्रतियोगिता समापन समारोहमा मन्तव्य राख्दै मेयर चिरीबाबु महर्जनले यस्तो आग्रह गरेका हुन् । शनिबार आयोजित प्रतियोगिताको समापनमा मेयर महर्जनले भने, ‘म २०४९ सालमा वडा अध्यक्ष हुँदा यही प्राङ्गणमा मेयर कप भलिबल आयोजना भएको थियो ।
त्यसपछि त्यसले निरन्तरता पाउन सकेन ।’ उनले ललितपुर महानगरपालिका १०० वर्षमा दौडानमा रहेको उल्लेख गर्दै यसै वर्षभित्र मेयर कप प्रतियोगिता गर्न गरी खाका पेश गर्न जावलाखेल भलिबल क्लबलाई अनुरोध गरेका छन् । जावलाखेल भलिबल क्लबको रजत बर्षको अवसरमा आयोजित प्रतियोगितामा जावलाखेल भलिबल क्लब, भक्तपुर र बनेपाका गरी ६ वटा टोलीले भाग लिएका थिए ।
जावलाखेलक भक्तपुर र बनेपाले प्रत्येक वर्ष पालो गरेर भलिवल प्रतियोगिताहरु आयोजना गर्ने गरेका छन् । प्रतियोगितामा जावलाखेल ‘वी’ले प्रथम स्थान हासिल गरेको थियो । त्यस्तै भक्तपुरले दोस्रो र वनेपाले तेस्रो स्थान हासिल गरेको थियो । जावलाखेल ‘ए’ टिमले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।