nc news

जन्मभूमिको विकासमा सघाउन परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह

By Bala Adhikari

February 25, 2019

काठमाडौँ, फागुन १३ । गैरआवासीय नेपालीलाई मातृभूमि नेपालको विकासमा योगदान गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को चालीसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहेका ज्ञवालीले गैरआवासीय नेपाली सङ्गठन र समुद्रपार नेपाली मञ्चका पदाधिकारीसँग आइतबार साँझ भएको छलफलमा विदेशमा रहेका नेपालीलाई आफ्नो जन्मभूमिको विकासमा सघाउन आग्रह गरेका छन् ।

विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिको उपयोग नेपालको विकासका लागि सदुपयोग गर्न र देश विकासमा सक्रिय सहभागिता जनाउन मन्त्री ज्ञवालीले आग्रह गरेको जेनेभास्थित संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि स्थायी नेपाली नियोगले जानकारी गराएको छ ।

उनले आर्थिक एवम् सामाजिक विकाससहित भौतिक पूर्वाधार निर्माणको दीर्घकालीन योजना र दृष्टिकोण, आगामी चैतमा आयोजना हुने दोस्रो लगानी सम्मेलनको महत्व, लगानीको वातावरण तयार गर्ने सिलसिलामा सरकारले अवलम्बन गरेका कानूनी सुधारका विषय, एकद्वार प्रणालीबाट लगानीकर्तालाई सेवा प्रवाह तथा विशेष आर्थिक क्षेत्र सञ्चालनबारे जानकारी गराएका थिए ।

आजदेखि चैत ११ गतेसम्म हुने परिषद्को उद्घाटन सत्रमा उनले सहभागी हुने तथा भोलि मङ्गलबार परिषद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उक्त नियोगले बताएको छ । हाल नेपाल राष्ट्रसंघीय मानव अधिकार परिषद्को सदस्य हो । मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग फागुन १५ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी हुन् ।