आर्थिक

बाह्रौँँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०७५ फागुन १६ देखि १९ सम्म हुने

By Bala Adhikari

February 26, 2019

ललितपुर, फागुन १४ । ललितपुरको जावलाखेल फुटबल मैदानमा बाह्रौँँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला, २०७५ यही फागुन १६ देखि १९ गतेसम्म आयोजना हुने भएको छ । अत्यधिक मात्रामा बढ्दै गएको रासायनिक मल तथा विषादीको प्रयोगले पर्यावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पार्दै गएको प्रति सजग गराउन र त्यसको न्यूनीकरणका लागि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्रले २०६३ सालदेखि सो मेला आयोजना गर्दै आएको मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलन गरी बताइएको छ ।

वातावरणमा जैविक विविधताको ह्रासबाट माटोको प्राकृतिक जीवनमा नकारात्मक प्रभाव परेको, आजभोलि नाइट्रोजनयुक्त रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा नाइट्रोजनको मात्रा जम्मा भई माटोमुनि चुहिएर भूमिगत पानीसमेत दूषित भएको, बालीलाई कीराबाट बचाउन प्रयोग गरिने विषादीको अत्यधिक एवं असन्तुलित प्रयोगबाट उत्पादित वस्तु विषादीयुक्त हुनाको साथै पर्यावरणीय सन्तुलनसमेत बिग्रिएको सो सम्मेलनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्राङ्गारिक कृषि उपज जनसमुदायसमक्ष परिचित गराउने, प्राङ्गारिक कृषि प्रणाली अपनाउन कृषकलाई प्रोत्साहन गर्ने, उपभोक्ता वर्गमा स्वस्थकर प्राङ्गारिक कृषि उपज उपभोग गर्न प्रोत्साहन गर्ने, निर्यातयोग्य प्राङ्गारिक कृषि वस्तुको पहिचान र प्रवद्र्धनमा सहयोग पु¥याउने, दिगो कृषि विकासको लागि प्राङ्गारिक कृषि पद्धतिको आवश्यकता बोध गराउने र प्राङ्गारिक कृषि व्यवसाय प्रबद्र्धन गर्न सहयोग पु¥याउने मेलाको मुख्य उद्देश्य रहेको जानकारी गराइएको छ । हेल्भटास नेपालका अध्यक्ष भोला श्रेष्ठले उक्त मेलामा १२५ कक्ष रहने बताएका छन् ।

मेलामा नेपालका चार हजार कृषकलाई रैथाने बाली चखाउने योजना रहेको बताउँदै उनले भने, करीब २५ लाख किसानले मेलाको अवलोकन गर्ने हामिले अनुमान गरेका छौ । सो मेलाबाट धेरै भन्दा धेरै कृषकले लाभ लिन सक्ने अनुमान गरेको उनले बताएका छन् । कृषि अनुसन्धान तथा ट्रेनिङ् सेन्टर (हसेराका) अध्यक्ष गोविन्द शर्माले रासायनिक मल र विषादीको प्रयोगले एक मिनेटमा १३ हजार हेक्टर जमीन मरुभूमिकरण भइरहेको प्रष्ट पारेका छन् ।

नेपालमा दुई हजार किसानले प्राङ्गारिक कृषि गरिरहेका प्रस्ट्याउँदै उनले भने, नेपालको ३६ लाख दुई हजार ६०० रोपनी जग्गामा प्राङ्गारिक कृषि उत्पादन भइरहेको छ, भने उपत्यकाको ४२ स्थानमा प्राङ्गारिक पसल खोलिएका छन् । हरेक क्षेत्रका किसानलाई यस्ता खाले कार्यक्रममा सहभागि गराउन सके बढ्दो विषदीको केहि हदसम्म न्युनिकरण हुने उनको धारणा छ । सरकारले अबको १० वर्षभित्रमा नेपाललाई प्राङ्गारिक कृषिमा परिणत गर्ने नीति बनाएर विभिन्न नीति कार्यक्रमको तय गरी अघि बढेको छ ।