काठमाडौँ, फागुन १९ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनले आफूलाई दुःखित तुल्याएको बताएका छन् ।
सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत अग्रज नेता श्रद्धेय अधिकारीको बिदाइसँगै मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ गुमाएको र आफूले व्यक्तिगत रुपमा एक सहृदयी मित्र गुमाएको जानकारी गराएका छन् ।
‘पञ्चायतको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि अनवरत सङ्घर्षमा उनको भूमिकासँगै यो क्षण म राजनीतिक सहकार्यको संस्कृति निर्माणमा अधिकारीले पु¥याउनु भएको योगदान स्मरण गरिरहेको देउवाको विज्ञप्तिमा भनिएको छ ।
सभापति देउवाले नेता अधिकारीको निधनप्रति व्यक्तिगत एवं पार्टीका तर्फबाट गहिरो शोक व्यक्त गर्दै नेकपा पार्टी र अधिकारीको परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता अधिकारीको उपचारका क्रममा शनिबार राति काठमाडौको हेम्स अस्पतालमा निधन भएको थियो ।