कभर स्टोरी

सरकार कार्यमुखीभन्दा प्रचारमुखी भएको देउवाको आरोप

By Bala Adhikari

March 03, 2019

काठमाडौँ, फागुन १९ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण काम गर्न नसकेको जानकारी गराएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले सरकार कार्यमुखीभन्दा पनि प्रचारमुखी भएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसले सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरेको स्पष्ट पार्दै उनले सरकार संघीयतालाई समेत कमजोर बनाउने क्रियाकलापमा लागिपरेको आरोप लगाएका छन् । सभापति देउवाले सरकार प्रेसलाई नियन्त्रण गर्न खोजिरहेको छ भन्दै आफ्नो दल प्रेस स्वतन्त्रतालाई कुनै पनि हालतमा कुण्ठित हुन नदिने जानकारी गराएका छन् ।

उनले प्रजातन्त्रको सुदृढीकरणका लागि प्रेस स्वतन्त्रता अपरिहार्य भएको अवस्थामा अनलाइन, फेसबुक, ट्विटरलगायत सूचनाको हक, लेख, वाक स्वतन्त्रता हनन गर्न खोज्ने सरकारको क्रियाकलाप कांग्रेसलाई सह्य नहुने बताएका छन् । देउवाले वाइडबडी प्रकरणको वास्तविकता आउनुपर्नेमा जोड दिएका छन् ।

सभापति देउवाले सीताको जन्मभूमि, गौरवमय इतिहास, मिथिला, मैथिली सभ्यता र संस्कृति, ज्ञान, बौद्धिकताको उद्गमस्थल जनकपुृरधामलाई नै प्रदेश नं २ को स्थायी राजधानी बनाउनुपर्ने प्रष्ट पारेका छन् ।

उनले मैथिली भाषा उत्कृष्ट, विकसित र समृद्ध भएकाले प्रदेश नं २ को कामकाजको भाषा मैथिली र प्रदेशको नामकरण मिथिला वा मिथिला–भोजपुरा गर्नुपर्ने धारणा राखेका छन् । सभापति देउवाले नेपाल विद्यार्थी संघको अधिवेशन छिट्टै हुने समेत सो सम्मेलनमा बताएका छन् ।