कभर स्टोरी

विद्यालयमा पठनपाठन गराएर मात्र विद्यालयको गुणस्तर सुध्रिन्छ : मेयर चिरीबाबु महर्जन

By Bala Adhikari

March 03, 2019

ललितपुर, फागुन १९ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सामुदायिक विद्यालयहरुले आफ्ना अभिावक र विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगसँगै अन्य सेवा सुविधा समेत उपलब्ध गराउनु पर्नेमा जोड दिएका छन् ।

 महानगरपालिकाको वडा नं.२० नःटोलस्थित बालविनोद माध्यामिक विद्यालयको ६८ औं जन्मोत्सव तथा अभिभावक दिवसको अवसरमा उनले विद्यालयको भौतिक पूर्वाधार, खेल मैदान, सरसफाई जस्ता कुराले शिक्षण सिकाईको उपलब्धि बढ्ने हुनाले त्यस्ता कुराहरुमा विशेष ध्यान दिन आग्रह गरेका छन् । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि गर्नका लागि विद्यालयका स्थायी शिक्षकहरु प्रतिबद्ध हुनुपर्ने वताएका छन् ।

महर्जनले शिक्षकहरुले राजनीतिक दलको झण्डा बोकेर नभई विद्यालयमा पठनपाठन गराएर मात्र विद्यालयको गुणस्तर सुध्रिने जानकारी गराएका छ्न् । आफू मेयर पदमा निर्वाचित भएलगातै ललितपुरका केही उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँगको छलफलमा सामुदायिक विद्यालयहरुका स्थायी शिक्षक हावी भएको वताएका थिए । उनले बालविनोद माध्यामिक विद्यालयको भौतिक र शैक्षिण गुणस्तर सुधारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख गुणराज पोखरेलले सामुदायिक विद्यालयका अभिभावकहरुले शैक्षिक गुणस्तरसँगसँगै अन्य पूर्वाधार विकासको समेत सुधारको अपेक्षा गरेको वताएका छन् । अभिभावकको आवश्यकता र मागलाई समेत सम्बोधन गर्ने खालका कार्यक्रम र योजनाहरु ल्याउनु पर्नेमा उनले जोड दिएका छन् । उनले कक्षा १२ सम्मको शिक्षा स्थानीय तहको जिम्मामा आएको जानकारी गराउँदै नगर शिक्षाको योजना तर्जुमा गर्दा अभिभावक र विद्यार्थीको समेत माग र आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

विद्यालयका प्रधानाध्यापक माधवप्रसाद खतिवडाले विद्यालयको भौगिक पूर्वाधार विकासको लागि महानगरको महत्वपूर्ण सहयोगको अपेक्षा गरेको वताएका छन् । प्रधानाध्यापक खतिवडाले शैक्षिक गुणस्तर सुधारको लागि समयानुकुल कार्यक्रमहरु ल्याई काम गरेको दावी समेत गरे ।

सहायक प्रधानाध्यापक अनिल कुमार झाले विद्यालयको अवस्था सुधारका लागि स्थानीय सरकारको सहयोग महत्वपूर्ण हुने धारणा राख्दै शैक्षिक गुणस्तर कमजोर हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा उक्त विद्यालयका विद्यार्थीहरुले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।