काठमाडौँ, फागुन २० । ऐतिहासिक स्थल रानीपोखरीेको पुनःनिर्माण कार्यको थालनी भएको छ । उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माणकार्यलाई अगाडी बढाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी गराएका छन् ।
परम्परागत शैली र प्रविधि मा नै निर्माण सामग्री प्रयोग गरेर मल्लकालीन शैलीमा उक्त पोखरी पुनःनिर्माण हुने उनले बताएका छन् । रानीपोखरी पुनःनिर्माण कार्य तिब्र रुपमा अघि बढेको जानकारी गराउँदै उनले भने, त्यसका लागि सबैको सहयोग र साथ रहने विश्वास लिएको छु । पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेकै मापदण्डअनुसार पुनःनिर्माण शुरु गरिएको जानकारी गराएका छन् । उनले पुनःनिर्माणमा अहिले ४० कालिगढ खटिएका र आवश्यकता अनुसार तिनको संख्या बढाइने प्रष्ट पारेका छन् ।
काठमाडौँ महानगरपाललिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले उक्त पोखरी पुनःनिर्माणका लागि यस वडाले सबै सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । पुनःनिर्माण प्राधिकरणले रानीपोखरीलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचना व्यवस्थित तथा समन्वयात्मक ढङ्गले गर्न प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रानीपोखरी पुनःनिर्माण अनुगमन तथा समन्वय समिति गठन गरिएको छ ।
मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचना पुनःनिर्माण गर्न उक्त प्राधिकरणलाई जिम्मेवारी प्रदान गरेको थियो ।