nc news

कांग्रेस इतरसमूहको बैठक चाक्सीबारीमा सम्पन्न

By Bala Adhikari

March 06, 2019

काठमाडौँ, २२ फागुन । काठमाडौंको चाक्सीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा बसेको कांग्रेस संस्थापन इतर समूहको बैठकले जिल्ला सभापतिहरुको मागलाई प्रक्रियागत तरिकारले सम्बोधनका लागि पहल गर्ने निष्कर्ष निकालेको छ ।

मंगलबार र बुधबार बसेको सो समुहको बैठकले ५६ जिल्ला सभापतिले मंगलबार जारी गरेको विज्ञप्तिलाई ढाडस दिएको छ । महासमितिमा जिल्ला सभापतिसँग गरिएको प्रतिवद्धता विपरित फागुन १२ गतेको केन्द्रीय कार्य समिति बैठकले विधान पारित गरेको थियो ।

सो बैठकमा सहभागिता जनाएका नेता अर्जुननरसिंह केसीले सभापतिको माग जायज भएको र यथासक्य उनीहरुको माग केन्द्रीय समितिले पुरा गर्नु पर्ने बताएका छन् । उनका अनुसार बैठकमा निर्वाचन समिति, अनुशासन समिति र नेविसिंघको तदर्थ समिति गठनका विषयमा समेत गम्भिर रुपमा छलफल भएको जानकारी गराएका छन् ।

पार्टीमा एकता कायम गर्नका लागि सो समुहले पहल गर्ने निश्र्कष निकालेको उनले सुनाए । बहुमतका आधारमा नभएर, वृह्त सहमति कायम गरेर निर्णय गर्नुपर्ने निचोड सो समुहको छ । सभापतिले शेरवहादुर देउवाले त्यो खालको व्यवहार नखाएको उनले टिप्पणी गरेका छन् । पार्टीमा वृह्त एकता कसरी कायम गर्न सकिन्छ भन्नेमा केन्द्रीत रहेर छलफल भएको केसीले सुनाए ।

पछिल्लो समय सभापति र प्रमुख नेताहरुबीच वृह्त सहमति कायम गर्ने विषयमा छलफल भइरहेका छन् । सभापति देउवाले पनि गुट उपगुटको अन्त्य कसरी गर्ने भन्दै महामन्त्री शशाकं कोइरालालाई हारगुहार गर्न थालेका छन् ।

साथै जिल्ला सभापतिहरुले विधान संशोधन नगरिए विशेष महाधिवेशनका जाने बताइए पनि उक्त बैठकमा विशेष महाधिवेशनबारे छलफल भने नभएको बताइएको छ । तर २५ प्रतिशत महासमिति सदस्यले फेरि महासमिति बैठकका बोलाउन सक्ने प्रावधान रहेकाले सो विषयमा बैठक भित्र घनिभुत रुपमा छलफल भएको स्रोतले बताएको छ ।

यस्तै अर्का केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पार्टीभित्रका आन्तरीक विषयमा नै बैठक केन्द्रित भएको बताएका छन् । साथै उनले पार्टीमा विकराल बन्दै गएको विवादका विषयलाई कसरी समाधानको बाटोमा लैजाने र पार्टीलाई कसरी एक ठिक्का बनाएर विवाद रहित ढंगले अगाडी बढ्ने भन्ने बारेमा समेत छलफल भएको बताएका छन् ।

उक्त बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा.शेखर कोइराला, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, गगन थापा, दिलेन्द्र प्रसाद वडु, प्रदिप पौडेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

मंगलबार ५६ जिल्ला सभापतिले एक विज्ञप्ति जारी गर्दै महासमिति बैठकबाट म्यान्डेट विपरित विधान ल्याइएको भन्दै विशेष महाधिवेशनको माग गरेका थिए । सो विषय लगाएतका विषयमा केन्द्रित रहेर इतर समूहको भेला सम्पन्न भएको छ ।