कभर स्टोरी

बेलका नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्णय नभएसम्म काम नगर्न अदालतको आदेश

By Bala Adhikari

August 03, 2017

उदयपुर, साउन १९ । उच्च अदालत ओखलढुंगाले उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ४ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अर्को आदेश नभएसम्म कुनै पनि काम नगर्नको लागि अन्तरिम आदेश जारी गरेको छ ।

उच्च उदालत ओखलढुंगाका न्यायाधीशहरु टेकराज नेपाल र दीपेन्द्रबहादुर वमको संयुक्त इजलासले बुधबार सो आदेश दिएको उच्च अदालत ओखलढुंगाले जनाएको छ । असार १४ गते सम्पन्न भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयमा बेलका नगरपालिकाको वडा नं ४ मा मतगणना गर्दा खसेको मत संख्याभन्दा चार मत बढी देखिएपछि विवाद भएको थियो ।

नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका मनोज तामाङ सहितका अन्य सदस्यले सो कुरा मान्य नहुने भन्दै पुनः मतदान गर्नु पर्ने वा पुनः मतगणना गर्नु पर्ने माग राखेको तामाङ पक्षले बताएका छन् । यता मतदान अधिकृतले भने एकपक्षीयरुपमा मतगणना सम्पन्न गरेर निर्वाचन मण्डलले एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका दीपक दंगालसहितका अन्य चारजना सदस्यलाई विजय घोषणा गरेका थिए । सोही विषयलाई लिएर उच्च अदालत ओखलढुंगामा माओवादी केन्द्र र काँग्रेसका उम्मेदवारसहितका उम्मेदवारले रिट निवेदन दिएको सम्बन्धित पदाधिकारीहरु बताउँछन् ।

निवेदक पक्षहरुले बेलका नगरपालिकाका निर्वाचन अधिकृत हरिप्रसाद पोखरेल र मतदान अधिकृत श्यामनारायण पण्डितसहितका पदाधिकारीलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेका थिए । बेलका नगरपालिकामा प्रमुख र उपप्रमुखसहित बहुमत नेकपा (एमाले)का उम्मेदवार विजयी भइसकेका छन् ।