कभर स्टोरी

पार्टीको नेतृत्व परिवर्तन आवश्यक : महामन्त्री कोइराला

By Bala Adhikari

March 12, 2019

प्युठान फागुन २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन आवश्यक रहेको औंल्याएका छन् । वर्तमान नेतृत्वले आम कार्यकर्तालाई न्याय गर्न नसकेको उनले आरोप लगाएका छन् । कोइरालाले सभापति शेरबहादुर देउवाले आमकार्यकर्तालाई न्याय गर्न नसकेकोबताएका छन् ।

नेपाल प्रेस यूनियन प्युठानले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले पार्टीको नेतृत्वका लागि कुन थर कुन जातभन्दा पनि पार्टी भित्र वीपी कोइरालाको विचार बोक्न सक्ने नेतालाई कार्यकर्ताले साथ दिनुपर्ने जानकारी गराएका छन् । पार्टीको नेतृत्वको लागि वीपीको रगतभन्दा पनि वीपीको विचार महत्वपूर्ण भएको उनले स्पष्ट पारेका छन् ।

‘कोइराला परिवारका सबैजना एकै साथ रहेको प्रष्ट पार्दै उनले भने, तर कांग्रेसमा वीपीको विचार अगाडि बढाउन सक्ने सवै नेता–कार्यकर्ताले कांग्रेसलाई नेतृत्व दिन सक्छन् । उनले आगामी महाधिबेशनमा नेता–कार्यकर्ताहरुसँग छलफल गरेर उम्मेदवारी तय गर्ने बताउँदै सभापतिको उम्मेदवार बन्ने संकेत गरेका छन् ।

महामन्त्री कोइरालाले सरकारले पृथकतावादी नेता सिके राउतसँग गरेको सम्झौताका बारेमा स्पष्ट पार्न नसकेको सरकारको कम्जोरीलाई औंल्याएका छन् । ‘सिके राउतसँगको सम्झौताको विषय राष्ट्रिय अखण्डतासँग जोडिएको विषय भएको उनले बताउका छन् । सम्झौतालगत्तै सिके राउतका सर्मथकले स्वतन्त्र मधेस र जनमत संग्रहको नारा लगाउन थालेको देख्दा सरकारको कदम नै शंकास्पद भएको उनको भनाई छ ।

‘सरकारले पनि सम्झौताका बारेमा स्पष्टीकरण नदिनु आश्चर्यको कुरा भएको उनको भनाई छ । महामन्त्री कोइरालाले वर्तमान सरकार अकर्मण्य बनेको आरोप लगाएका छन् । दुईतिहाइ बहुमतको सरकारले अकर्मण्यतामा अल्झनु दुर्भाग्यपूर्ण रहेको उनले स्पष्ट पारेका छन् । कोइरालाले मुलुकमा समृद्धि र विकासको गति तीव्र रुपमा अगाडि बढाउनुपर्ने बेलामा सरकार केही गर्नै नसक्ने गरि अल्मलिएको टिप्पणी गरेका छन् ।

सरकारले समृद्धि नारा लगाउनमा मात्र व्यस्त भएको बताउँदै उनले भने, समृद्धि मुलुक निर्माणका लागि सरकार गम्भिर नदेखिएको प्रस्ट्याएका छन् । सरकारले तमाम जनताको भावना अनुसार काम गर्न नसकेको उनले बताएका छन् । सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको उनले आरोप लगाएका छन् । सरकार बेलैमा नसुघ्रिए कांग्रेस मुक दर्शक बनेर बस्न नसक्ने उनले प्रष्ट पारेका छन् ।