आर्थिक

नबिल बैंकको ३४ औं साधारणसभाले सम्पन्न : २२ प्रतिशत लाभांश प्रदान गरिने

By Bala Adhikari

March 12, 2019

काठमाडौं, फागुन २८ । नबिल बैंकको ३४ औं वार्षिक साधारणसभाले आर्थिक बर्ष २०७४–७५ को मुनाफाबाट नगद लाभांश २२ प्रतिशत र बोनस सेयर १२ प्रतिशत दिने प्रस्ताव पारित गरेको छ ।

बैंकको सञ्चालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार बैंकको लाभांश मंगलबार सम्पन्न साधारणसभाले अनुमोदन गरेको हो । वाणिज्य बैंकहरुमध्ये आव २०७३–७४ मा सबै भन्दा बढी कर राजस्वमा योगदान पुर्याएबापत बैंकले आन्तरिक राजस्व विभागबाट सम्मान प्राप्त गरेको थियो ।

बैंकले आव २०७४–७५ मा निजी क्षेत्रको बैंकहरुमध्ये उच्चतम मुनाफा ३ अर्ब ९८ करोड रुपैयाँ हासिल गरेको थियो । बैंकले जेथामा प्रतिफल २१.२२ प्रतिशत र प्रतिसेयर आम्दानी ५०.२५ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ६१ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकको सञ्चालन मुनाफा ५ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न भएको हो । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमशः ७.५२ र ७.५५ ले वृद्धि भएको जानकारी गराएको छ । बैंकको नेटवर्थ २० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर पश्चात बैंकको चुक्तापुँजी ९ अर्ब १ करोड रुपैयाँ नाघेको विवरण सार्वजनिक गरिएको छ ।