ललितपुर, फागुन २८ । काठमाडौं र काभ्रे उपत्यकाका ऐतिहासिक सम्पदा संरक्षणका बारेमा छलफल गर्न आयोजना गरिएको दोस्रो मेयर्स फोरमको बैठकले अर्को बैठक किर्तिपुर नगरपालिकामा गर्ने निर्णय गरेको छ । ललितपुर महानगरपालिकाले मंगलबार आयोजना गरेको दोस्रो मेयर्स फोरमको वैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा भूकम्प पश्चातको पुनःनिर्माण, ऐतिहासिक बस्तीहरु, मुर्त तथा अमूर्त सम्पदाहरुको संरक्षणका सन्दर्भमा छलफल भएको थियो । फोरमको बैठक प्रत्येक वर्ष आयोजना गरिने छ । पहिलो बैठक पनौति नगरपालिकामा गरिएको थियो । महर्जनले तेस्रो मेयर फोरमको वैठक किर्तिपुरमा गर्न प्रस्ताव राखेका छन् । उक्त कार्यक्रममा मन्तव्य राख्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दोस्रो मेयर्स फोरमको प्रारम्भिक घोषणापत्र प्रस्तुत गरेका थिए ।
प्रारम्भिक घोषणापत्रमा सम्पदा क्षेत्रमा निर्माण गरिने घर तथा भवनहरुको नक्सा पासमा छुुट दिने सन्दर्भ लगायतका विषयहरु उल्लेख गरिएको छ । प्रारम्भिक घोषणापत्रमा छलफल पछि अन्तिम रुप दिएर सार्वजनिक गर्ने मेयर महर्जनले बताएका छन् । उनले सम्पदा संरक्षणमा सार्वजनिक खरिद ऐन २०६३ बाधक भएको प्रष्ट पार्दै यसलाई तत्काल संशोधन गरेर अघि बढ्नु पर्ने जानकारी गराएका छन् । उनले यही ऐन अनुसार सम्पदा निर्माण गर्न दिइने हो भने ठेकेदार मोटाउँने संकेत गरेका छन् ।
यस्तै अवस्थामा सम्पदाहरु निर्माण गर्ने हो भने कुरुप हुँदै जाने बताएका छन् ।’ उनले मेयर्स फोरमले उपत्यकाकाभित्रका समस्या समाधान गर्न ठोस पहल गर्ने वताएका छन् । उपमेयर गीता सत्यालले ललितपुरको चिनारी सम्पदा भएको वताउँदै यसको संरक्षणमा महानगर प्रतिवद्ध भएको स्पष्ट पारिन् । उनले मेयर्स फोरममार्फत उपत्यकाका सम्पदा संरक्षणका लागि गरिने काम प्रभावकारी हुने जानकारी गराएकी छिन् ।
किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले तेस्रो मेयर्स फोरमको आयोजना गर्र्न पाउनु महत्वपूर्ण अवसर भएको वताएका छन् । उनले गुठी संस्थानमा भएको बजेटलाई मूर्त तथा अमूर्त सम्पदा संरक्षणका लागि प्रयोग गर्न मेयर्स फोरमले पहल गर्नुपर्ने धारणा राखेका छन् । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले मेयरहरुको यस्ता वैठकहरुले विकासको अवधारणलाई मूर्त रुप दिन सहयोग पु¥याउने जानकारी गराएका छन् ।
वैठकमा १४ वटा नगरपालिकाका मेयर, उपमेयर र सम्पदा क्षेत्रको जिम्मेवारी पाएका इञ्जिनियरहरुको समेत सहभागिता रहेको थियो । बैठकमा ललितपुर महानगरपालिकाकी आर्किटेक चन्द्रशोभा शाक्यले महानगरपालिकाले सम्पदा संरक्षणमा गरेका कामहरु समावेश भएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यसैगरी भक्तपुर नगरपलिकाका आर्किटेक रामगोबिन्द श्रेष्ठ, किर्तिपुर नगरपालिकाका कृष्णभोला महर्जन, पनौति नगरपालिका प्रमुखकार्यकारी अधिकृत इन्द्र प्रसाद अधिकारीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पनौति नगरपालिका प्रमुखकार्यकारी अधिकृत अधिकारीले पनौतीको वडा नं ७ मा मूर्त तथा अमूर्त सम्पदा धेरै रहेको औंल्याउँदै लोप भइसकेका जात्राहरुको सुरु गरेको जानकारी गराएका छन् । टोकियो नेशनल इन्स्टिच्युट फर कल्चलर प्रपर्टिजका मासाहिको टोमोडाले सम्पदा संरक्षणका लागि थालिएको यो प्रयास महत्वपूर्ण र अर्थपूर्ण भएको वताएका छन् ।
उनले यसका लागि ललितपुर महानगरपालिकाले निर्वाह गरेको भूमिका महत्वपूर्ण भएको जानकारी गराएका थिए । कार्यक्रममा कोबे डिजाइन युनिभर्सिटी जापानका प्राध्यापक योकियो निसुमुराले सम्पदा संरक्षणका लागि संयुक्त रुपमा थालिएको यो प्रयासको प्रशंसा गरेका छन् ।