कभर स्टोरी

मन्त्रिमण्डललाई पूर्णता दिन हत्तारो छैन : प्रधानमन्त्री

By Bala Adhikari

March 17, 2019

विराटनगर, चैत ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउने जानकारी गराएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गदै ओलीले रिक्त रहेका मन्त्रालयमा अब पुनःगठन होइन पूर्णता प्रदान गरिने बताएका हुन् । उनले मन्त्रिमण्डललाई पूर्णता दिन हत्तारो नभएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले विप्लव समूह हत्या हिंसा, लुटपाट, तोडफोड गर्ने एउटा समूहमात्र भएकोले त्यो गतिविधि बन्देज गर्न रोक लगाएको जानकारी गराएका छन् । उनले सरकारको निकायमा दर्ता गरेको संस्थालाई मात्र प्रतिबन्ध लगाइने र कसैले नचिन्ने, कही कतै दर्ता नभएको, अनाधिकृत विप्लव समूह एउटा मात्र झुण्ड भएकाले त्यसको गतिविधि नियन्त्रण गर्न रोक मात्र लगाएको कुरालाई प्रस्ट्याएका छन् ।

उनले विप्लव समूहलाई सरकारले कहिल्यै ठट्टा नगर्ने प्रष्ट पार्दै भनेका छन्, हत्या हिंसा, आतङ्क सिर्जना गरी जनतामा आतङ्कित गर्ने समूहलाई निषेध मात्र होइन नियन्त्रण पनि गर्छ । उनले विप्लव समूहको कुनै एउटा पनि माग सभ्य लोकतान्त्रिक समाजले सुन्न सक्ने खालको नभएकोले अनुचित, गैरसंवैधानिक कार्य गर्न रोक लगाइएको जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले विखण्डन, पृथकतावादी सोच विचार भएको सङ्गठन अब नेपालमा समाप्त भएको बताउँदै संविधानलाई स्वीकार गरी सक्रिय राजनीतिमा सिके राउत आउँछु भन्दा अन्य नेताले आफ्नो हर्कत देखाउनु गलत भएको बताएका छन् । उनले कसैले रुवावासी र छाती पिट्दैमा आफुले गरेको गलत कामको गलत व्याख्या नहुने बताएका छन् ।