आर्थिक

भक्तपुरमा बृहत् औद्योगिक मेला हुने

By Bala Adhikari

March 19, 2019

२०७६ सालको नयाँ वर्षको अवसर पारेर भक्तपुर जिल्लामा बृहत् औद्योगिक मेलाको आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले नयाँ वर्षको अवसरमा ‘पाँचौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला’ आयोजना गर्न लागेको जानकारी गराएका छन् ।

आयोजक संस्थाले मंगलबार भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दीप महतले मेला चैत २१ गतेदेखि वैशाख २ गतेसम्म चलने जानकारी गराएका छन् । महतले सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी जग्गामा सो कार्यक्रम सञ्चालन गरिने मेलामा २०० भन्दा बढी कक्ष रहने बताएका छन् ।

उपभोक्तालाई एकै स्थानबाट सम्पूर्ण सामान उपलब्ध गराउने ध्ययेका साथ नयाँ वर्षको अवसरमा मेला आयोजना गर्न लागेको महतले स्पष्ट पारेका छन् । मेलामा दैनिक जीवनमा प्रयोगमा आउने उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा र पर्यटन प्रवद्र्धन गर्ने कक्ष रहने बताइएको छ ।

मेला संयोजक दीपक थापाले यस वर्ष मेलामा खुला भलिबल प्रतियोगितासमेत सञ्चालन गरिने जानकारी गराएका छन् । मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिने बताइएको छ । सो मेलामा निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिने संयोजक थापाले बताएका छन् ।

करीब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको उक्त मेलामा रु १० करोडदेखि रु १२ करोडको कारोवार हुने अपेक्षा आयोजकले बताएको छ ।