बद्री पन्त जाजरकोट, चैत ७ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी महेश विक्रम शाहले विप्लव समुहमा लागेकालाई पक्राउ गर्न सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिएका छन् । कर्णाली प्रदेशका सुरक्षा निकाय प्रमुखहरू डीआईजी शाह, सशस्त्र प्रहरी बलका डीआईजी राजुराज सुवाल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश निर्देशक मधु कार्कीसहितको टोलीे सुरक्षा अवस्थाबारे जानकारी लिन जाजरकोट आएको हो । सुरक्षा अधिकारीहरुले पछिल्लो समय विप्लव समुहको गतिविधी शुन्य भएको वताएका छन् ।
सरकारले विप्लव समुह माथि प्रतिवन्द लगाएपछि उक्त समुहका गतिविधी शुन्य भएको कर्णाली प्रदेश प्रमुख डिआइजी महेश विक्रम शाहले स्पष्ट पारेका छन् । विगतमा रुकुम र जाजरकोट माओवादी जनयूद्धको उद्गम स्थल मानिए पनि जिल्लाको सुरक्षा अवस्था वुझ्दै जाँदा र स्थानीय सरकारका जनप्रतिनिधी लगायतसंग छलफल गर्दा पछिल्लो समय विप्लव समुहका गतिविधी खासै नदेखिएको डिआइजी शाहले जानकारी गराएका छन् । विप्लव समुहको गतिविधी नियन्त्रण गर्न सेना, प्रहरी र सशस्त्र प्रहरी वल सहितको संयुक्त सुरक्षा फौज परिचालन भएको शाहले प्रस्ट्याएका छन् ।
हरेक स्थानीय तहको सुरक्षा अवस्था मजवुत बनाउन र अपराधी लुकीछिपी रहेको स्थानमा तीनवटै सुरक्षा निकायको सहकार्यमा लामो दुरीको गस्ती कार्य भैरहेको शाहले बताएका छन् । अपराधी समुहको गतिविधी निस्तेज पारी जनताको जनधनको सुरक्षा गर्नु पहिलो कर्तव्य भएको शाहको भनाइ छ । कर्णाली प्रदेशको उच्च सुरक्षा अधिकारीको टोलीले सुरक्षा मामिलालाई नीति तथा कार्यक्रममा राखेर बजेट विनियोजन गर्न स्थानीय तहका जनप्रतिनिधीसंग आग्रह समेत गरेको छ । शान्ति सुरक्षा कायम गर्न सबैको एकता तथा सहकार्य जरुरी भएको र स्थानीय तहको भूमिका अझ बढी प्रभावकारी हुने शाहले जानकारी गराएका छन् । प्रतिबन्द पछि विप्लव समुहमा लागेकालाई पक्राउ गरी कारबाही गर्न वाटो खुलेको भन्दै शाहले विप्लव समुह अपराधी भएकोले उक्त समुहमा सग्लग्न जो कोहीलाई तत्काल पक्राउ गर्न सम्बन्धित सुरक्षा इकाईलाई निर्देशन दिएको शाहले बताएका छन् ।
टोलीले सरोकारवाला सबैलाई विप्लव समुहले लुकिछिपी गतिविधी संचालन गरेको थाह पाउन साथ तत्काल सुरक्षा फौजलाई जानकारी दिन आग्रह पनि गरेको छ । सुरक्षा अधिकारीको टोलीसंग कुशे, बारेकोट र जुनीचाँदे गाउँपालिकाको केन्द्रमा शान्ति सुरक्षा कायम गर्नका लागि अविलम्ब प्रहरी इकाई स्थापना गर्नुपर्ने माग गरेको छन । सुरक्षा इकाई नहुँदा केन्द्रबाट नियमित सरकारी सेवा प्रवाह गर्न कठिनाई भएको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहदुर केसीले बताएका छन् । प्रदेशका सुरक्षा प्रमुख नै आएर अन्तरक्रिया गरेपछि स्थानीय तहका जनप्रतिनिधि उत्साही छन् ।
त्यस्तै जाजरकोटमा विप्लव समुहको गतिविधी तथा नेता खोज्न ग्रामीण भेगमा सुरक्षा टोली परिचालन भएको छ । जिल्ला सुरक्षा समितिको बैठक बसेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाइएको डीएसपी श्यामबहादुर खत्रीले जानकारी गराएका छन् । सरकारको नीति र निर्देशनअनुसार जिल्लाका सबै ठाउँमा सुरक्षा गस्ती थालेको हो । चन्द समूहको बढी सम्भावित क्षेत्रमा पुग्ने गरी बिहिबार सदरमुकामबाट १ सय जनाको संयुक्त सुरक्षा फौज परिचालन भएको डिएसपी खत्रीले बताएका छन् ।