काभ्रेपलाञ्चोक, चैत ८ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ का ४२ वर्षीया जुना केसी रहेको बताइएको छ ।
बनेपाबाट भक्तपुरतर्फ जाँदै गरेको ना ६ ख ४७३५ नम्बरको ट्रकले बनेपा नपा–१४ अरनिको राजमार्गस्थित २२ किलो भन्ने स्थानमा आज करीब १२ बजे सोही दिशातर्फ गइरहेको ७२ प ६६८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा गम्भीर घाईते भएकी मोटरसाइकलमा सवार केसीको उपचारका क्रममा शिर मेमोरियल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी गराएको छ ।
जुना उनका ४७ वर्षिय श्रीमान् देवबहादुर केसीसँग मोटरसाइकलमा घर फर्कंदै गरेको जनाइएको छ । ठक्करबाट घाइते भएका मोटरसाइकल चालक देवबहादुर केसीकोे शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको जानकारी गराइएको छ ।
जुनाको शव परीक्षणका लागि अस्पतालमा राखिएको बताइएको छ । ठक्कर दिने ट्रक र त्यसका चालक हेटौँडा निवासी रामभाई गोपालीलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको प्रहरी कार्यालय बनेपाले जानकारी गराएको छ ।