कभर स्टोरी

वार्ता र संवादबाट समस्याको समाधान हुन्छ : वरिष्ठ नेता नेपाल

By Bala Adhikari

March 26, 2019

काठमाडौँ, चैत १२ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जानकारी गराएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर चितवनले मंगलबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वार्ता र संवादबाट समस्याको समाधान हुने स्पष्ट पारेकान छन् । लगानी सम्मेलनको तयारी गरिएको बताउँदै उनले भनेका छन्, लगानीकर्तालाई बम पड्काएर, धम्की दिएर कसरी लगानी सम्मेलन सफल हुन्छ ? यस्तो अवस्थामा बाह्य र आन्तरिक लगानीमा मान्छेको रुचि नहुने उनको धारणा छ ।

उनले त्रास र आतङ्कमुक्त गर्न राज्यले प्रयत्न गरिरहेको जानकारी गराएका छन् । नेता नेपालले चन्द नेतृत्वको समूहका गतिविधिलाई सरकारले नियन्त्रणमा लिएको बताएका छन् । नेत्रविक्रम चन्दले आफैँले पहल गरी शान्तिपूर्ण अवतरण हुने काम गरेदेखि सो पार्टीका जिम्मेवार मान्छेलाई सहज हुने बताउँदै उनले भनेका छन्, शक्ति, ऊर्जा, अनुभव यो देशलाई रुपान्तरण गर्ने काममा प्रयोग हुन्छ ।

वरिष्ठ नेता नेपालले चन्द समूहलाई संवादका माध्यमबाट समस्या समाधान गर्न नेता सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले प्रयास जारी राखेको जानकारी गराइका छन् । राज्यले नियन्त्रण गर्ने भनेको तर सिध्याउने नभनेको उनले प्रस्ट्याए । राजनीतिकर्मीले सबै धर्मलाई सम्मान गर्नुपर्ने प्रष्ट पार्दै नेपालले जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गरेका छन् । हरेक व्यक्तिको स्वतन्त्रता नै आफ्नो धर्म आफैले रोज्न पाउने होे धर्म छनोट गर्ने हो तर, कसैले जबर्जस्ती गराउँछ भने दण्डको भागीदार हुनुपर्ने उनको भनाई छ ।

उनले नेपालमा खुलारूपमा क्रिश्चियन धर्म प्रचार गरी प्रभावमा पारेर धर्म परिवर्तन गर्ने कामलाई संविधानले छुट नदिएको प्रष्ट पारेका छन् । साथै नेता नेपालले कोहि पनि धर्म परिवर्तनको लोभ लालचमा फस्न नहुने बताएका छन् । उनले नेपालमा हिन्दू धर्मलाई परिवर्तन गर्ने काम भइरहेको भन्दै त्यसलाई दण्डित गर्नुपर्नेमा जोड दिएका छन् ।

मन्त्रिमण्डलमा नयाँ अनुहार पठाउने सवालमा नेता नेपालले सरकार गठन भएको एक वर्ष भइसकेकाले कामको मूल्याङ्कन गरी फेरबदल गर्नु उपयुक्त हुने जानकारी गराएका छन् ।

अर्को प्रसङ्गमा पार्टीको बैठक बसेर निर्णय हुन नसकेका कारण नेताले आफ्ना गुनासो बाहिर पोख्नुपरेको बताएका छन् । उनले नेतृत्वले चाहेमा एक साताभित्र पार्टीको तल्लो तहसम्म एकता गर्न सकिने प्रष्ट पारेका छन् ।