आर्थिक

जापानमा जाने नेपाली श्रमिकले तीनलाखसम्म कमाउन सक्ने

By Bala Adhikari

March 28, 2019

काठमाडौं, चैत्र १४ । नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यका रुपमा हेर्ने स्थान जापानसँग गएको सोमबार नेपालको श्रम सम्बन्धी सम्झौता भएपछि सर्वसाधारणमा निकै चासोको विषय बन्न पुगेको छ । सोमबार नेपाल सरकार र जापान सरकारका अधिकारीबीच काठमाडौंमा भएको नेपाली श्रमिक पठाउनेसम्बन्धी ‘सहयोग समझदारी’ ले जापानी कानुनबमोजिम नेपाली श्रमिकले रोजगारीको सेवा, सुविधा एवं शर्तमा जापानी नागरिक सरह समान व्यवहार प्राप्त गर्ने व्यवस्था सुनिश्चित भएको जानकारी गराइएको छ ।

सम्झौताको समयमा त्यहाँ जाने नेपालीलाई जापानी सरह नै तलब सुविधा उपलब्ध हुने भनिएपनि खासमा कति तलब पाउने हुन् भन्ने कुराको निश्चित भएको छैन । यसरी जापानमा श्रमिक पठाउने राष्ट्रको सूचीमा नेपाल समेत भियतनाम, क्याम्बोडिया, चीन, इण्डोनेसिया, थाइल्याण्ड, म्यान्मार र मंगोलिया छन् । अहिलेसम्म जापानले नेपाल र फिलिपिन्ससँग सो सम्बन्धी सम्झौता गरिसकेको छ । जापान जाने नेपालीले कति तलब पाउँछन् भन्ने कुरामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले उताबाट डिमान्ड लेटर आएपछि थाहा हुने बताएका छन् ।

त्यसभन्दा अघि जापान र नेपालको श्रम सम्बन्धी विषय हेर्ने मन्त्रालयका अधिकारीहरु सम्मिलित संयुक्त समिति बनाइने र सो समिति बनिसकेपछि अन्य प्रक्रिया अघि बढ्ने उनको भनाई छ । त्यससम्बन्धी थप प्रक्रिया आउँदो अप्रिल १ तारेख देखि नै सुरु हुने बताइएको छ । जापानले तोकेका १४ वटा कार्यक्षेत्रअन्तर्गत जापान जान चाहने सबै श्रमिकले जापानी पक्षबाट सञ्चालन हुने जापानी भाषा र सीप परीक्षा अनिवार्य रुपमा पास गर्नुपर्ने व्यवस्था गरिएको छ । भाषा र सीप परीक्षा सञ्चालन गर्ने संयन्त्र जापानको सम्बन्धित निकायले टुङ्गो लगाउने बताइएको छ । उनले जापान पठाउनका लागि भन्दै विभिन्न निकायले भाषा कक्षा खोल्न थालेको भन्दै त्यो गलत भएको समेत प्रष्ट पारेका छन् । उनले भने, भाषा पढाएको स्थानमा आएमा जापानमा रोजगारीका लागि जान पाउने भन्दै पढाइएको पनि सुनिएको तर त्यो कुरा गलत कुरा हो ।

उनले शिक्षा मन्त्रालयले भाषाको अनुमति दिने भएकोले आफ्नो मन्त्रालयलाई त्यसबारेमा जानकारी नभएको जानकारी गराएका छन् । प्रवक्ता डा. सुवेदीले भीसा प्रक्रियाको बारेमा जापानले नै तय गर्ने भएकोले आफूहरुलाई अहिले जानकारी नभएको स्पष्ट पारेका छन् । उता जापान सरकारले हप्ताको ४० घण्टा काम लगाउने गरी समय तोकेको छ । जस अन्तर्गत श्रमिकले दिनको ८ घण्टा काम गर्नुपर्ने हुन्छ । जापानमा तलब भने क्षेत्रीय हिसाबले तोक्ने गरिएको बताइएको छ । यसरी तोक्दा जुन ठाउँमा रोजगारी मिल्ने हो त्यहाँको लिभिङ कस्ट, रोजगारदाताको क्षमता, सामाजिक सुरक्षा फाइदा जस्ता कुरामा ध्यान दिने गरिएको बताइएको छ । यसरी हेर्दा मासिक अढाइ लाख देखि ३ लाखसम्म तलब हुन सक्ने जानकारी गराइएको छ ।

जापानमा कामका लागि जाने विदेशी कामदारहरुलाई जापानले दुई खालका भिसा उपलब्ध गराउन चाहेको र त्यसमा दक्ष र विशेष कामदारहरुको विषय उल्लेख गरिएको छ । कामदार लैजाने मामिलामा जापानका सरकारी अधिकारीहरुले कुराकानी गरिरहेको केही दिन अघिको जापान टाइम्समा समाचार प्रकाशित भएको थियो । गत शुक्रबार जापानको प्रधानमन्त्री कार्यालयमा कामदार लैजाने सम्बद्ध एजेन्सीहरुसँग छलफल भएको जापान टाइम्सको सो समाचारमा उल्लेख गरिएको छ । मन्त्रिपरिषद्का प्रमुख उपसचिव काजुहिरो सुगिताले आफ्नो कामलाई राम्रोसँग अघि बढाउन एजेन्सीहरुलाई आग्रह गर्दै यसो गरिएमा काममा बाधा नहुने जानकारी गराएका थिए ।

दक्षको क्याटागोरीमा पर्ने कामदारले खोजिएको विषयमा दक्षता सम्बन्धी परीक्षा र भाषा परीक्षा पास गर्नुपर्ने हुन्छ । त्यस्ता कामदारलाई जापानका लागि ५ वर्षको भीसा उपलब्ध गराइने जानकारी गराइएको छ । विशेष खालको दक्षता भएका चिकित्सक लगायतका क्षेत्रका लागि भने ५ वर्ष भन्दा बढी समयको लागि भिसा उपलब्ध हुन सक्ने स्पष्ट पारिएको छ । तर, समय सीमा भने तोकिएको छैन । त्यस्तै दोस्रो समूहका कामदारले परिवारपनि लिएर जान पाउने बताइएको छ । जापानले विदेशी कामदार लानका लागि तोकेका १४ वटा क्षेत्रमा कृषि, नर्सिङ केयर, सवारी सधान मर्मत र सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योग रहेका छन् ।

जापान सरकारको अनुमानअनुसार दुवै खालका भिसा सुविधाबाट आगामी ५ वर्षका लागि कूल ३ लाख ४० हजार विदेशी कामदारहरु जापान जान पाउने भएका छन् । ती मध्येबाट नै नेपालका कामदारले पनि अवसर पाउने जानकारी गराइएको छ । कति नेपाली त्यसमा पर्छन् भन्ने कुरा अहिले नै टुंगो नहुने समेत श्रम मन्त्रालयका प्रवक्ताले बताएका छन् । जापानको विदेशमन्त्रालयका अनुसार पहिलो राउण्डको जापानी भाषा सम्बन्धी परीक्षा आगामी अप्रिल १३ र १४ तारेखमा फिलिपिन्सको मनिलामा हुने जनाइएको छ । नेपालको भने अहिलेकै अवस्थामा मिति तोकिसकेको छैन । जापानको कानुन मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै जापान टाइम्सले जनाएअनुसार भिसा सम्बन्धी जानकारी चाँडै विभिन्न रोजगारदाता कम्पनीहरुलाई पठाइनेछ ।

त्यसैगरी सो मन्त्रालयले जापानमा जीवन र कामको बारेमा जानकारी दिने खालका सामग्री अप्रिल महिना लागेपछि आफ्नो वेबसाइटमा राख्न पनि आग्रह गरेको छ । यही मार्च महिनाभित्रमा श्रमिक पठाउने सबै राष्ट्रसँग सम्झौता गरिसक्ने लक्ष जापानले राखेको छ । दैनिक रुपमा प्रयोग हुने भाषा सिक्नका लागि सहायताका अतिरिक्त श्रमिकको बसाइ र कार्यस्थलको अवस्था, स्वास्थ्य सेवा र काम परिवर्तनका सन्दर्भमा सल्लाह एवं गुनासो व्यवस्थापनको विषय समझदारीले समेटेको छ । प्रत्येक कामदारलाई सहायता योजनाअन्तर्गत जापानमा दैनिक जीवनयापनसम्बन्धी अभिमुखीकरण गरिने समेत उल्लेख गरिएको छ । त्यसैगरी नेपाली श्रमिक जुन कार्यक्षेत्रमा गएका हुन् सोही कार्यक्षेत्रमा रोजगारदाता परिवर्तन गर्न अनुमति दिइने व्यवस्था सम्झौतामा रहेको छ । रोजगारदाता परिवर्तनका लागि जापान सरकारले सञ्चालन गरेको सार्वजनिक रोजगार सेवा केन्द्रले सहयोग एवं समन्वय गर्ने जानकारी गराइएको छ ।

नेपालका लागि जापानी राजदूत मासामिची साइगोले जापानले विभिन्न ९ देशबाट श्रमिक भित्रयाउने नीति अख्तियार गरेको जानकारी दिँदै दक्षिण एसियाली मुलुकबाट नेपाललाई मात्र छनोट गरिएको गत सोमबार जानकारी गराएका थिए । नेपालीहरु निकै इमान्दार देखिएको र नेपाली नागरिकले देखाउने व्यवहारका कारण नै जापानले नेपाल छनोट गरेको उनले बताएका थिए । सहयोग समझदारी पत्रमा नेपाली श्रमिकको भर्ना, जापानी भाषा परीक्षा एवं सीप परीक्षणका लागि जापानी पक्षलाई सहयोग एवं सहजीकरणका लागि वैदेशिक रोजगार विभागअन्तर्गत एउटा छुट्टै इकाइको स्थापना गरिने व्यवस्था गरिएको छ । दुई देशबीचको समझदारीपत्रको प्रभावकारी कार्यान्वयनका लागि दुवै देशका प्रतिनिधि रहने गरी गठन गरिने संयुक्त समिति गठन भएपछि मात्रै प्रक्रिया अघि बढाउन मद्यत गर्नेछ । उक्त समितिले नेपाली श्रमिकको भर्ना, रोजगारी र स्वदेश फिर्तीलगायतका विषयमा अवलम्बन गर्ने विधि एवं प्रक्रियाको टुङ्गो लगाउनेछ ।