काठमाडौँ, चैत १४ । राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले अब कुनै अधिनायकवादको आकाङ्क्षा असम्भव भएको र हिंसाबाट सत्ता कब्जा हुन्छ भन्ने सपनाको छेउमा पनि पुग्न नसकिने कुरा स्पष्ट पार्दै उनले नेकपाको प्रदेश नं ३ को प्रथम बैठकको उद्घाटन गर्दै भने, अब पनि बन्दुक र लुटपाटको सहारा लिएर क्रान्ति गर्छु भन्नेले देश बनाउँदैनन् । उनले कम्युनिष्टको बर्काे ओढेर गिरोहका नाममा उत्पात मच्चाउनेलाई सरकारले कानूनबमोजिम नियन्त्रण गर्ने जानकारी गराएका छन् ।
पार्टी एकतापछि तल्लो तहको एकतामा ढिलाइ भएको स्वीकार्दै ओलीले अब चाँडै त्यसलाई पूरा गरेर अघि बढिने औंल्याएका छन् । उनले पार्टीभित्रका असन्तुष्टिलाई बाहिर उछालेर भए–नभएका कुरा सार्वजनिक गर्ने अनुशासनहीन प्रवृत्ति उचित नभएको समेत स्पष्ट पारेका छन् । नेतृत्वले कुनै लाखापाखा नगरेको बताउँदै उनले भनेका छन्, अब कसैले गुटबन्दी गर्नु पर्दैन । गुटबन्दी र फुटको शिक्षाबाटै हामी एकताबद्ध भएर सुविधाजनक बहुमतको कम्युनिष्ट सरकारको चरणमा पुगेका छौँ ।
अब सामाजिक रूपान्तरणको काममा सबै लाग्नुपर्छ । पार्टी एकतापछि हाललाई सामाजिक न्यायसहितको समाजवादको लक्ष्यमा केन्द्रीत जनताको जनवाद विचारधारा लिइएको प्रष्ट पार्दै उनले काम गरेर देखाउने गरी नेता कार्यकर्ताहरु प्रस्तुत हुन आग्रह गरेका छन् । केन्द्र, प्रदेश र स्थानीय तहमा विकासको आधार शुरु भएको र यसबीचमा धेरै कानून निर्माण भएकाले केही काम भएन भनी सरकारको आलोचना भएन भनिनुको अर्थ नभएको प्रधानमन्त्री ओलीले बताएका छन् ।
सरकारले पूँजी र प्रविधिको विकासका लागि विदेशी लगानी स्वीकारेको र निजी क्षेत्रसँग सहकार्य गरेको उनले प्रष्ट पारेका छन् । कार्यक्रममा अध्यक्ष ओलीले २१७ सदस्यीय प्रदेश कमिटीका सदस्यलाई शपथ दिएका थिए ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि गठित प्रदेश कमिटीमा नारायण दाहाल अध्यक्ष र आनन्द पोखरेल सचिव हुनुहुन्छ । कार्यक्रममा पार्टीका सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल, प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य र सहइञ्चार्ज हितबहादुर तामाङलगायत उपस्थिति रहेका थिए ।