कास्की, चैत १८ । नेपाल सरकार र प्रहरी प्रशासनको ज्यादती बढ्ने क्रममा छ । सरकार विप्लवका नाममा सर्वसाधारणलाई निकै दु:ख दिने कामका साथै पत्रकारलाई बन्देज लगाउने काममा निकै सक्रिय देखिन्छ ।
सरकारको ज्यादती कै करण नेपाल पत्रकार महासंघ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभासद् राजेन्द्र अधिकारीलाई आज प्रहरीद्वारा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१ स्थित पृथ्वीनारायण क्याम्पस गेटमा आज बिहान विप्लव निकट अखिल क्रान्तिकारीले गरेको प्रदर्शनको समाचार सङ्कलनका लागि कार्यक्रम स्थल पुगेका अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरेकोे कास्की पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी गराएका छन् ।
पत्रकार अधिकारीसँगै अन्य दुई विद्यार्थी पनि पक्राउ परेको बताइएको छ । महासंघका अध्यक्ष श्रेष्ठले गैरकानूनी पक्राउको विरोध गर्दै अधिकारीको तुरुन्त रिहाइको माग गरेका छन् । प्रेस जगतलाई सरकारले अंकुस लगाउन खोज्ने कार्य अत्यन्त निन्दनीय भएको बताउँदै श्रेष्ठले भनेका छन्, पक्राउ गरेका पत्रकारलाई तत्काल रिहाई गरियोस्, पत्रकार माथिको ज्यादतीको अन्त्य गरीयोस ।
सरकारका यस्ता गतिविधी तत्काल रोक्न उनले सरकारसँग आग्रह गरेका छन् । महासंघका गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले समाचार सङ्कलन गर्न जाने पत्रकारलाई पक्राउ गर्ने गैरकानूनी कार्य बन्द गरी तुरुन्त रिहा गर्न माग गरेका छन् ।