कभर स्टोरी

गोदावरी सडक निर्माण कार्य अझै अघि बढ्न सकेन

By Bala Adhikari

April 05, 2019

काठमाडौँ, चैत २२ । स्थानीयवासीले घरसँगै जग्गाको समेत मुआब्जा माग गरे पछि कर्मनाशा खोलाबाट हरिसिद्धि हुँदै गोदावरी कुण्डसम्मको सडक निर्माण कार्य अघि बढाउन नदिँदा भौतिक प्रगति कम भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

निर्माण शुरु भएको डेढ वर्षमा जम्मा सो सडक निर्माण अहिले सम्ममा १० प्रतिशत मात्रै सम्पन्न भएको छ । सडक मापदण्ड भित्र पर्ने १२० घर सर्वाेच्च अदालतको निर्णयका कारण भत्काउन नसकिएको इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताएका छन् । उनले पहिले घरको मात्रै मुआब्जा माग गरेकामा अहिले स्थानीयवासीले जग्गाको समेत मुआब्जा मागेर निर्माणको काम अघि बढाउन नदिएको जानकारी गराएका छन् ।

सरकारले सो स्थानमा रहेका घरटहरा हटाएर काम गर्न खोज्दा स्थानीयवासीले सङ्गठित रुपमा अवरोध गर्दै आएका छन् । सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको आयोजनाले जानकारी गराएको छ । यो सडक निर्माणको ठेक्का आयोजनाले आशिष सि एम जेभी र लामा समानान्तर जेभी गरेर दुई ठेकेदार कम्पनीलाई दिएको छ । ठेक्का अवधि आगामी वर्ष कात्तिकमा सकिने इञ्जिनीयर श्रेष्ठले औंल्याएका छन् ।

काठमाडौँ उपत्यकाका अरु सडकमा जस्तै सो स्थानका स्थानीयवासीको अवरोध नै निर्माण अवरुद्ध हुनुको कारण बनेको उनको भनाई छ । उक्त सडक जस्तै उपत्यकामा १० सडक निर्माणाधीन रहेका छन् । तीमध्ये अधिकांशमा जग्गा र घरको मुआब्जा विवादका कारणसम्झौता अवधि सकिँदा वा थोरै समय बाँकी हुँदा पनि भौतिक प्रगति कम छ । त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गा र चाबहिलबाट जोरपाटी हुँदै साँघुसम्मको सडक भने काम धमाधम भइरहेको आोजनाले जानकारी गराएको छ ।