कभर स्टोरी

प्रधानमन्त्रीले शक्ति सञ्चय गर्नु गलत : महामन्त्री कोइराला

By Bala Adhikari

April 07, 2019

भक्तपुर, चैत २४ । प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीले शक्ति सञ्चय गर्नु गलत भएको आरोप लगाएका छन् । महामन्त्री डा कोइरालाले नेपाली कांगे्रस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा कांगे्रसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् ।

कोइरालाले कांगे्रसलाई एक बनाएर लानुको विकल्प नभएको र सहकार्य समन्यको खाँचो पार्टी भित्र रहेको नेपाल महिला संघ जिल्ला कार्य समिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा समसामयिक राजनीतिक विषयमा महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बताएका हुन् ।

पार्टीलाई मिलाएर लैजान कुरामा आफू सधै सकारात्मक र सक्रिय रहेको बताउँदै महामन्त्री डा कोइरालाले भने, म पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु, पार्टीलाई एकताबद्ध बनाएर लैजान सके काङ्ग्रेसलाई कसैले जित्न सक्दैन, काङ्ग्रेस फेरि ठूलो पार्टी हुन्छ ।

कांगे्रसका आमन्त्रित केन्द्रीय सदस्य रमा ढकाल, प्रदेश नं ३ का प्रदेशसभा सदस्य रजनी जोन्छे, कांगे्रसका जिल्ला सभापति दुर्लभ थापा, नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थ, भक्तपुर कांगे्रसका पूर्वसभापति गणेशमान चक्रधर, कांगे्रस नेता अष्टकुमार कबे, क्षेत्र नं १ का सभापति जीवन खत्री, नेता मदनकृष्ण श्रेष्ठ, संघका जिल्ला सभापति सरु बानियाँ लगायतले कांगे्रसभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।