कभर स्टोरी

सिटौलाले किन बहिस्कार गरे देउवाले बूढानीलकण्ठमा बोलाएको बैठक

By Bala Adhikari

April 08, 2019

काठमाडौँ, चैत्र २५ । गत शनिबार केन्द्रीय कार्यालयमा बस्ने भनिएको नेपाली कांग्रेस केन्दीय समितिको बैठक तोकिएको मितिमा बस्न सकेन । केन्द्रीय समिति बैठक बस्न नसकेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले सहमति खोज्न आफ्नै निवासमा नेताहरुलाई बोलाएर आन्तरीक छलफल र सहमति जुटाउने प्रयास गरिरहेका छन् ।

सभापति देउवाले निजि निवास बूढानीलकण्ठमा नै सोमबार नेताहरुलाई बोलाएर छलफल थालेका हुन् । तर, देउवाको निमन्त्रणालाई पार्टीको तेस्रो धारको नेतृत्व गरेका कृष्णप्रसाद सिटौलाले अस्वीकार गरेका छन् । उनी सो बैठकमा सामेल हुने कुनै संकेत देखिएको छैन् । काँग्रेसमा केन्द्रीय कार्यसम्पादन समिति, संसदीय बोर्ड, केन्द्रीय विभागका संयोजक चयन लगायतका विषयमा सहमति जुट्न नसकेपछि शनिबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो ।

देउवा निवासमा सुरु भएको काँग्रेसका शीर्ष नेताहरुको बैठकमा बरिष्ठ नेता रामचनद्र पौडेल, उपसभापतिहरु विमलेन्द्र निधी, विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, नेता गोपालमान श्रेष्ठ लगाएतका नेताहरु सहभागीता जनाएका छन् । सभापति देउवाले पार्टीको कार्यसम्पादन समिति, संसदीय बोर्ड र केन्द्रीय विभागका संयोजक तोक्ने विषयका साथै पार्टीले सरकारविरुद्ध देशव्यापी चलाउने भनिएको जनजागरण अभियानबारे छलफल गर्न भन्दै आफ्नै निवासमा बैठक बोलाएको बताइएको छ ।

यसअघि पार्टीको नयाँ विधानले पदाधिकारीमा थप गरिएको संख्या समेतको कार्यसम्पादन समिति गठनको व्यवस्था गरेपनि तत्काल निर्वाचित सात सहमहामन्त्री नभएको भन्दै सभापति देउवाले पुरानै विधानका आधारमा पदाधिकारीसहित २९ सदस्यीय समिति गठन गर्नुपर्ने प्रस्ताव गरेका थिए । सो प्रस्तावमा समितिमा रहने सदस्यहरु देउवा र पौडेलका ६० र ४० का आधारमा राख्न दुई नेता सहमति भएको थिए । तर, सो समितिमा नेता कृष्णप्रसाद सिटौलाले आफ्नो तर्फबाट पनि सदस्य राख्नुपर्ने भन्दै आपत्ति जनाएको बताइक्ष्एको छ ।

सिटौलाको आपत्तिपछि गत शनिबारको केन्द्रीय समिति बैठक नै स्थगित गर्नुपरेको काँग्रेस नेताहरुको भनाई छ । सभापति देउवाले आफ्नो मात्र अभिव्यक्ति लाद्ने गरेको र यो पक्रियाले पार्टी नचल्ने सिटौलाले बताउँदै आएका छन् । नेतृत्व तहमा रहने मान्छेले सबैको भावना समेटेर काम नगरेको र आफु खुसि निर्णय गर्दै हिडेको सिटौलाको भनाई छ ।