कभर स्टोरी

सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न

By Bala Adhikari

April 08, 2019

काठमाडौं, चैत्र २५ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (बिशेष कार्यदल) बगलामुखी काठमाडौंमा संचालित सि.सं. २२६ (ड) सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठले आईतबार सोही गणमा आयोजित एक कार्यक्रमका बीच सो तालिमको समापन गरेका हुन् ।

सो अवसरमा उनले तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी जवान भक्तबहादुर पेग्नी, शारीरिक सहिष्णुतातर्फ प्रथम हुन सफल सशस्त्र प्रहरी जवान जगतबहादुर बगाले, चाँदमारीतर्फ प्रथम भएका सशस्त्र प्रहरी जवान किरण तामाङ र कवाजतर्फ प्रथम भएका सशस्त्र प्रहरी जवान दिवस तामाङलाई पुरस्कार समेत प्रदान गरेका थिए ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले सो अवसरमा सशस्त्र प्रहरी बल, नेपालमा नव प्रवेशी प्रशिक्षार्थी जवानहरुले लामो समयको कठिन तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई दिदै उनीहरुलाई कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उनले आधारभूत तालिमबाट प्राप्त ज्ञान, शिप, कला र कौशलले प्रशिक्षार्थीहरुको व्यावसायीक दक्षतामा अभिबृद्धि हुनुका साथै कार्यक्षेत्रमा गएपछि आईपर्ने विभिन्न जिम्मेवारी तथा चुनौतीहरुको सामना गर्न सक्षम हुने कुरामा आफु विश्वास्त रहेको जनाएका छन् ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले सशस्त्र प्रहरी बल, नेपाल राष्ट्रको एउटा महत्वपूर्ण सुरक्षा निकायको रुपमा रहेको चर्चा गर्दै राज्य प्रदत्त जिम्मेवारी निर्वाहको क्रममा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले सीमा अपराध नियन्त्रण, विपद् प्रकोपमा उद्धार, राजश्व चुहावट नियन्त्रण लगाएतका विभिन्न जिम्मेवारीहरुमा उत्कृष्ट कार्यसम्पादन गरिरहेको चर्चा गरेका थिए ।

उनले राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा ईमान्दारिकासाथ कटिबद्ध रहन दिक्षित सशस्त्र प्रहरी जवानहरुलाई निर्देशन समेत दिएका छन् । कार्यक्रममा सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक रत्न पोख्रेलले धन्यवाद ज्ञापनको क्रममा उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी तालिमलाई समयानुकुल व्यवहारिक एवं बैज्ञानीक ढंगले संचालन गरिएको जानकारी गराएका थिए ।

तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक रामहरी अधिकारीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै करीब नौ महिना अवधिको उक्त तालिममा प्रशिक्षार्थीहरुलाइ ड्रिल, मानवअधिकार, नक्सा अध्ययन, हुल तथा दंगा व्यवस्थापन, हतियार ह्याण्डलिङ, युद्धकला लगायतका विविध विषयहरुमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण दिइएको बताएका थिए ।

उक्त तालिममा १ सय २९ जना प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुका साथै स्थानीय भद्रभलादमी तथा प्रशिक्षार्थीहरुका अभिभावकवर्गको उपस्थिति रहेको थियो ।