आर्थिक

रसुवागढी जलविद्युत् आयोजनाको उपराष्ट्रपतिद्धारा निरीक्षण

By Bala Adhikari

April 15, 2019

रसुवा, वैशाख २ । उपराष्ट्रपति नन्दबहादुर पुनले निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।

रसुवागढी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको भौतिक प्रगति तथा आयोजनाको अवस्थाका बारेमा उपराष्ट्रपतिले चासो व्यक्त गर्दै आयोजनाको कामप्रति सन्तोष व्यक्त गरेका हुन् ।

उपराष्ट्रपति पुनले तोकिएको समयमा नै आयोजनाको काम सम्पन्न गर्न आयोजनाका प्रमुख तथा पदाधिकारीलाई आग्रह गरेका छन् । गोसाइँकुण्ड गाउँपालिका– १ र २ मा बनाउँदै गरिएको कूल १११ मेगावाट क्षमताको सो आयोजनाको हाल ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

आयोजनाको अवस्था र प्रगतिका बारेमा उपराष्ट्रपति पुनलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र रसुवागढी आयोजनाका निमित्त कार्यकारी प्रमुख छवि गैरेले जानकारी गराएका थिए ।

उपराष्ट्रपतिका साथ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला अध्यक्ष कर्णेल तामाङलगायत स्थानीय नेता तथा कार्यकर्ताले सहभागी जनाएका थिए ।