कभर स्टोरी

अनुशासन पालना नगर्ने पन्ध्र सय कर्मचारी कारवाहीको सिफारिस

By Bala Adhikari

April 15, 2019

काठमाडौँ, वैशाख २ । राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले अनुशासन पालना नगर्ने ती कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानले बताएका छन् ।

३२ जिल्लाका ५१९ कार्यालयमा छड्के अनुगमन गर्दा समय पालना नगर्ने एक हजार १३५ र तोकिएको पोशाक नलगाउने ३९९ कर्मचारी रहेको उनको भनाई छ । निजामती सेवा ऐन, २०४९ को दफा ५२ अनुसार ती कर्मचारीलाई सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालमा राखिने भएको छ ।

दुई पटकसम्म चेतावनी परिसकेका कर्मचारीलाई विभागीय कारवाही गर्ने व्यवस्था समेत रहेको छ । यसैगरी केन्द्रमा अहिलेसम्म छड्के अनुगमन गर्दा कारवाहीका लागि सिफारिस गरिएकामध्ये ७९९ कर्मचारीलाई कारवाही गरिएको जानकारी प्राप्त भएको उनले सुनाए ।