कभर स्टोरी

सरकारले वार्ता र सहमतिद्वारा विप्लव समूहलाई समेट्नु पर्छ : सभापति देउवा

By Bala Adhikari

April 16, 2019

कञ्चनपुर, वैशाख ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

विप्लव समूहलाई वार्ताद्वारा सहमतिमा ल्याएर मुलुकमा शान्ति सुरक्षा कायम गर्नुपर्ने बताउँदै उनले मंगलबार नेपाल प्रेस युनियन कञ्चनपुरले सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै दुई तिहाइको बलमा जे पनि गर्न नपाइँने बताएका छन् । सरकारले वार्ता र सहमतिद्वारा विप्लव समूहलाई समेट्नु पर्ने उनको धारणा छ ।

सभापति देउवाले तत्काल वार्ता गरेर सरकार अगाडि बढ्नुपर्ने उनले भने, दुई तिहाइको बलमा सरकार हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको छ । उनले विश्वविद्यालयमा प्राज्ञिक नियुक्ती, चिकित्सा शिक्षा विधेयक, न्यायालय र प्रेस स्वतन्त्रता लगायतमा सरकारले मनोमानी व्यवहार गरीे नियन्त्रणमा राख्न खोज्नु गलत भएको जनाएका छन् । सभापति देउवाले सरकार शिक्षा क्षेत्रलाई धरासायी बनाउन उद्धत रहेको आरोप समेत लगाएका छन् ।

उनले केपी ओली नेतृत्वको सरकारले गएको एक वर्षमा एउटा पनि राम्रो काम गर्न नसकेको टिप्पणी दोहोर्याएका थिए । सभापति देउवाले हत्या, हिंसा, बलात्कारका घटना न्यूनीकरणमा पनि सरकार असफल सावित भइसकेको दाबी गरेका छन् । ‘‘निर्मलाका हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन,’’ उनले भने, ‘‘यो सरकार बलात्कारी र हत्यारा जोगाइरहेको छ ।’’ देउवाले देशभर बढ्दै गएका आपराधिक क्रियाकलापप्रति चिन्ता व्यक्त गरेका छन् ।

सभापति देउवाले स्थानीय सरकारले जनतालाई अत्यधिक करको भार थुपारेर अनावश्यक दुःख दिएको प्रति चिन्ता व्यक्त गर्दै जनतालाई अनावश्यक दुख दिने खेलमा सरकार नलाग्न आग्रह गरेका छन् । सभापति देउवाले छायाँ सरकार गठन नभएर कांग्रेसले विषयगत समितिहरु बनाउन खोजेको समेत प्रस्ट्याएका छन् ।

छायाँ सरकार नभएर विषयगत समितिहरु बनाउने तयारीमा आफु जुटेको उनको भनाई थियो । ती समितिहरु छिटो निर्माण हुने जानकारी गराउँदै उनले भने, सरकारका गलत कामको खवरदारी गर्न कै लागि समिति गठन हुने हो । सोहि कार्यक्रममा बोल्दै उनले पार्टीमा अनुशासन कायम गराएरै छाड्ने दाबी गरेका छन् । सभापति देउवाले अन्तरघातीलाई कारबाही गरेर पार्टीमा अनुशासन कायम गरिने जानकारी गराएका छन् । उनले पार्टीभित्रका अन्तरघातीलाई कारबाही गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

अनुशासन समितिले कारबाहीको प्रकृया सुरु गरिसकेको प्रष्ट पार्दै उनले भने, ‘‘पार्टीमा अनुशासन कायम गरेरै छोड्छु ।’’ कम्युनिष्ट पार्टीमा पनि गुट–उपगुट रहे पनि उनीहरु कांग्रेसले जस्तो चुनावमा आफ्नै उमेदवारलाई हराउन तर्फ नलाग्ने सभापति देउवाको भनाइ थियो । उनले पार्टी एक ठिक्का बनाएर पार्टीका गतिविधिलाई थप सक्रिय बनाउँदै लैजाने समेत बताएका छन् ।